महिला खेलाडी फिल्डिङ र फिटनेसमा केन्द्रित

बिहिबार, २२ फागुन, २०८१
डिजिटल संस्करण
  • युगान्डामा हुने चारदेशीय टी–२० आई सिरिज खेल्न बुधबार त्यसतर्फ प्रस्थान गरेका खेलाडीले बन्द प्रशिक्षणमा आफ्ना कमजोरी सुधारेका छन्

नेपाली राष्ट्रिय महिला क्रिकेट खेलाडीले युगान्डामा चारदेशीय टी–२० आई सिरिजमा सहभागी हुनुअघि फिटनेस र फिल्डिङमा जोड दिएका छन् । यसमा सुधार गर्न नसक्दा नेपाल पछिल्लो टी–२० आई सिरिजमा जितविहीन बनेको थियो । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा थाइल्यान्ड र नेदरल्यान्ड्स सम्मलित त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपाली खेलाडीको फिल्डिङ र फिटनेसमा कमजोरी देखिएको थियो । 

नेपाल क्रिकेट संघ (क्यान)ले यिनै कमजोरी सुधार्न खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको थियो । टोलीका मुख्य प्रशिक्षक मनोज कटवालले बन्द प्रशिक्षणमा फिटनेस र फिल्डिङलाई प्राथमिकतामा राखेको बताए । ‘हामीहरूको मुख्य कमजोरी यी दुई क्षेत्रमा थियो, यसमा सुधार गर्न खेलाडीले धेरै मिहिनेत गरेका छन्,’ उनले भने, ‘अहिले आशा गरेभन्दा सुधार भएको पाएको छु ।’ नेपालले युगान्डामा आयोजकसँगै हङकङ र नामिबियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपालकी कप्तान इन्दु बर्माले पनि फिटनेस र फिल्डिङमा सुधार आएको बताएकी छिन् । ‘पछिल्लो सिरिजमा हामी यिनै पक्षमा कमजोर भयौँ, यसपटक यसैमा केन्द्रित भएर प्रशिक्षण गर्यौँ,’ बर्माले भनिन्, ‘फिल्डिङ र फिटनेस ट्रेनरको आगमनले थप सहज भयो ।’ 

उनले युगान्डामा राम्रो नतिजा निकाल्ने अपेक्षा रहेको जनाइन् । ‘तयारी राम्रो भएको छ,’ उनले भनिन्, ‘यसपटक राम्रो क्रिकेट खेलेर फर्कनेछौँ ।’ प्रशिक्षक कटुवालले कमजोरी सुधार गरी सिरिज जितेर फर्कने बताए । ‘फिल्डिङ र फिटनेसमा ध्यान दिएका छाैँ, नयाँ ट्रेनरबाट खेलाडीले राम्रो गरेका छन्,’ उनले भने । नेपाली टोलीलाई बुधबार मूलपानीमा बिदाइ गर्दै क्यानका सचिव पारस खड्काले महिला खेलाडीले नयाँ अनुभव लिएर फर्कने बताए । 

‘नयाँ ठाउँमा गएर खेल्दै हुनुहुन्छ, त्यहाँ फरक अनुभव बटुल्ने विश्वास छ,’ खड्काले भने, ‘जित र हारको मूल्यांकन हुन्छ, तर राम्रो क्रिकेट खेलेर फर्कनुहुनेमा विश्वास छ ।’ नेपालले २४ फागुनमा नामिबियासँग खेल्नेछ । २५ फागुनमा युगान्डासँग प्रतिस्पर्धा गर्ने नेपालले २६ फागुनमा हङकङविरुद्ध खेल्नेछ । डबल राउन्ड रोबिनअनुसार हुने प्रतियोगितामा नेपालले २८ फागुनमा नामिबियासँग, २९ फागुनमा युगान्डासँग र ३० फागुनमा हङकङसँग खेल्नेछ ।

बलिङ र ब्याटिङ राम्रो छ : मनोज कटवाल, मुख्य प्रशिक्षक, नेपाल
नेपालको ब्याटिङ र बलिङमा केही समस्या छैन । युगान्डामा हामीले फिटनेस र फिल्डिङमा समेत राम्रो प्रदर्शन गर्छौँ । यिनै पक्षमा सुधार गर्न धेरै मिहिनेत गरेका छौँ । फिटनेसमा खेलाडीलाई सुधार गर्न विशेष प्रशिक्षक झिकायौँ । क्लोज क्याम्पमा खेलाडीले फिटनेस र फिल्डिङमा केन्द्रित रहेर प्रशिक्षण गरेका थिए । टोलीमा सातजना यू–१९ टोलीका खेलाडी छन् । उनीहरूको आगमनले नेपाल युवा र अनुभवी टोली बनेको छ । युवा खेलाडीको स्पिड राम्रो छ ।

तयारी राम्रो भएको छ : इन्दु बर्मा, कप्तान, नेपाल
युगान्डामा हुने टी–२० आई सिरिजका लागि राम्रो तयारी गरेका छौँ । त्यहाँ उत्कृष्ट नतिजा निकाल्न अपेक्षा छ । पछिल्लो सिरिजमा नेपालले फिल्डिङ र फिटनेसमा कमजोर प्रदर्शन गरेको थियो । बन्द प्रशिक्षणमा यसमा सुधार भएको छ । विशेषज्ञ ट्रेनरले यसमा सुधार गर्न धेरै मिहिनेत गर्नुभएको छ । यसपटक राम्रो क्रिकेट खेलेर फर्कनेछौँ । टिममा भएका युवा खेलाडीबाट राम्रो प्रदर्शनको आशा गरेका छौँ । 
 

See More On

सुझावित समाचार