प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले अग्नि खरेललाई प्रधानमन्त्रीको कानुनी सल्लाहकारमा नियुक्त गरेको छ। एमाले नेता खरेल पूर्वकानुनमन्त्री हुन्। प्रधानमन्त्रीको कानूनी सल्लाहकारको काम महान्यायाधिवक्ताले गर्ने भएपनि छुट्टै सल्लाहकार समेत नियुक्त गरिएको छ।
बैठकले दुई सहसचिवलाई सचिवमा बढुवा गरेको छ। प्रशासनतर्फ मदन भुजेल तथा स्वास्थ्य सेवातर्फ डा.विकास देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको छ।
त्यस्तै, नेपाल प्रहरीका डिआइजी जनक भट्टराईलाई एआइजीमा बढुवा गर्ने निर्णय भएको छ।
मन्त्रिपरिषद् बैठकले नेपाल बिद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनुअघि तीन दिने स्पष्टीकरण समेत सोध्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।