जुवा (सट्टेबाजी) खेलिरहेका चारजनालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पर्सा वीरगन्ज महानगरपालिका–१४ घर भई हाल पोखरा–९ बस्ने आबिद अन्सारी, वीरगन्ज–१७ घर भई हाल पोखरा–९ बस्ने मनोज राम हरिजन, पोखरा–२५ हेम्जा घर भई पोखरा–९ बस्ने रामचन्द्र भण्डारी र बारा कलैया उपमहानगरपालिका–८ घर भई पोखरा–९ बस्ने साजन साह रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए।
पोखरा–९, पृथ्वीचोकस्थित सार्वजनिक स्थानमा गोटी प्रयोग गरी जुवा (सट्टेबाजी) खेलिरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट जुवा (सट्टेबाजी) खेल्न प्रयोग हुने गोटी ६ थान, नगद एक लाख ११ हजार, मोबाइल पाँच थान, ग२०प १४९६ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको शर्माले जानकारी दिए।
पक्राउ परेका उनीहरूलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने)सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट बुधबार १० दिन म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ।