पर्वतमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु, सात घाइते

बुधबार, २१ फागुन, २०८१
डिजिटल संस्करण

जिल्लाको बिहादी गाउँपालिकामा आज बिहान भएको बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।

गुल्मीको कालीगण्डकी गाउँपालिकास्थित पूर्तिघाटबाट स्याङ्जाको वालिङतर्फ जाँदै गरेको लु.१ज ४४६० नम्बरको जिप बिहादी-६ लिदीमा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिहादी- ३ रानी पानीका ६१ वर्षीय मीनप्रसाद उपाध्याय र गुल्मीको कालीगण्डकी गाउँपालिका- ४ पूर्तिघाटकी ६४ वर्षीया डिलकुमारी भट्टचनको घटनास्थलमा मृत्यु भएको घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परी घाइते भएका ६ जनालाई उपचारका लागि पाल्पा लगिएको छ भने एक बालक सामान्य घाइते भएकाले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

उकालो सडकमा ब्रेक फेल भएर गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेको पहिचान खुलिनसकेको बताउँदै घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए ।

सुझावित समाचार