एमाले मोरङको दसाैँ जिल्ला अधिवेशन : पाँच दिनपछि मतदान सुरु

बुधबार, २१ फागुन, २०८१
डिजिटल संस्करण

शनिबार १७ फागुनदेखि सुरु भएको नेकपा एमाले मोरङको दसौँ जिल्ला अधिवेशनमा दुई प्यानलबिचको चर्को प्रतिस्पर्धाले पाँच दिनपछि बल्ल मतदान सुरु भएको छ। निर्वाचन समितिका अनुसार बुधबार बिहान विराटनगरको बरगाछीस्थित होटेल मनासलुमा मतदान सुरु भएको हो।

एमाले मोरङमा ९६५ जना महाधिवेशन प्रतिनिधि सहभागी छन्। जसमा पाँचजना पदाधिकारीसहित जम्मा १६५ जना समिति चयनका लागि संस्थापन र इतर दुई समूहबिच कडा चुनावी प्रतिस्पर्धा हुँदै छ। सोमबारै निर्वाचन गराउने तयारी भए पनि ४६ जना प्रतिनिधि सदस्य एकलौटी मनोनयन गरेको भन्दै इतर पक्षले विरोध गरेपछि निर्वाचन प्रक्रियामा असर पुगेको थियो । 

त्यससछि मंगलबार पनि सहमति हुन नसक्दा अबेर मात्र निर्वाचन समितिले प्रतिनिधिहरूको नामावली प्रकाशन गरेर निर्वाचन प्रक्रिया थालेको थियो। तर, आपसी समहमति बनाउनेबारे दुवै समूह पटकपटक छलफलमा बस्दा मंगलबार पनि मतदान कार्य अगाडि बढ्न सकेन। 

प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठका अनुसार एमाले मोरङमा जम्मा ३२५ जनाले उम्मेदवारी मनोनयन गराएका थिए। केहीले उम्मेदवारी फिर्ता लिएका छन्  भने  ७१ जना निर्विरोध भइसकेका छन्। अब बाँकी १९१ जना उम्मेदवारहरुले चुनावी प्रतिस्पर्धा गर्दै छन्।  एमाले मोरङको दसाैँ अधिवेशनको उदघाटन शनिबार एमाले उपाध्यक्ष रामबहादुर थापाले गरेका थिए। 

सुझावित समाचार