दशरथ रंगशालामा प्रधानमन्त्रीकै अगाडि दर्शक कुट्ने एमाले कार्यकर्तालाई सत्ताको संरक्षण

योजनाबद्ध रूपमा खटाइएका थिए चार हजार कार्यकर्ता

बुधबार, २१ फागुन, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीकै अगाडि रंगशालाभित्र दर्शक कुट्ने एमाले कार्यकर्ताले सत्ताको संरक्षण पाएका छन् । सोमबार साँझ दशरथ रंगशालामा ‘केपी ओली कप’ फुटबलको फाइनल खेलका क्रममा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने दर्शकमाथि जंग तामाङसहितका कार्यकर्ताले आक्रमण गरेका थिए । सुरक्षामा खटिएको प्रहरीले उनीहरूलाई तत्काल पक्राउ गर्न सक्थ्यो । तर, स्पष्ट चिनिने गरी सामाजिक सञ्जालमा कुटपिटका भिडियो ‘भाइरल’ हुँदासम्म पनि ‘उजुरी नआएको’ भन्दै उल्टै संरक्षण दिएको छ । कुटपिटमा संलग्न सिन्धुपाल्चोक घर भएका तामाङ युवा संघमा आबद्ध छन् । 

  • एसपी अपिलराज बोहरा प्रवक्ता, प्रहरी परिसर काठमाडौं
  • रंगशालामा खिचिएको एउटा भिडियो भाइरल भएको रहेछ । भिडियोबारे प्रहरीलाई नोटिस छ । अहिले भिडियो भेरिफाई गर्ने काम भइरहेको छ । हालसम्म कसैको आधिकारिक उजुरी पनि आएको छैन । प्रहरीले थप छानबिन पनि गरेको छैन ।

सार्वजनिक कार्यक्रमहरूमा प्रधानमन्त्री, मन्त्री, दलका नेता वा उच्चपदस्थमाथि नागरिकले असन्तुष्टि प्रकट गरेको यो नै पहिलो होइन । विगतमा पनि यस्ता नाराबाजी भएका थिए । यस्तो अवस्थामा सुरक्षामा खटिएका प्रहरीले परिस्थिति शान्त पार्न सक्छन् । तर, सोमबार युवा संघका दुई युवकले दर्शकमाथि मुक्का हानिरहँदा सुरक्षामा खटिएका सुरक्षाकर्मी उल्टै मुक्का खानेमाथि नै खनिएको सार्वजनिक भिडियोमा देखिन्छ । घटनास्थलमा रहेका प्रहरीले कुटपिटमा संलग्न युवा संघका कार्यकर्तालाई पक्राउ गर्नुको सट्टा कुटाई खानेलाई प्यारापिटबाट हटाई युवा संघकै कार्यकर्तालाई जिम्मा लगाइदिएका थिए । त्यसपछि युवा संघका कार्यकर्ताले ती युवकलाई रंगशालाबाट बाहिर निकालेका थिए । 

प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहरा रंगशालामा भएको कुटपिटका सम्बन्धमा सामाजिक सञ्जालमा भाइरल भिडियो भेरिफाई गर्ने काम भइरहेको बताउँछन् । ‘रंगशालामा खिचिएको एउटा भिडियो भाइरल भएको रहेछ । भिडियोबारे प्रहरीलाई नोटिस छ । अहिले भिडियो भेरिफाई गर्ने काम भइरहेको छ,’ उनले भने, ‘हालसम्म कसैको आधिकारिक उजुरी पनि आएको छैन । प्रहरीले थप छानबिन पनि गरेको छैन ।’

युवा संघका उपाध्यक्ष महाराज गुरुङले भने रंगशालामा कुटपिट गर्ने व्यक्तिहरू युवा संघका कार्यकर्ता नरहेको दाबी गरेका छन् । उनीहरू एमाले समर्थक भएको र घटनालाई पनि सामान्य रूपमा लिएको उनले बताए । ‘युवा संघका कार्यकर्ताले दर्शक कुटपिट गरेको छैन । भिडियोमा देखिएका युवा एमाले समर्थक हुन्,’ उनले भने, ‘सोमबार केहीबेर भनाभन मात्रै भएको हो । पाँचैँ मिनेटमा समस्या समाधान भयो । यो घटनालाई हामीले सामान्य ढंगले नै लिएका छौँ ।’

खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला प्रवेश गरेलगत्तै नाराबाजीमा उत्रिएका दर्शकमाथि कुटपिट भएको थियो ।

योजनाबद्ध रूपमा खटाइएका थिए चार हजार कार्यकर्ता

प्यारापिटमा रहेका दर्शक कुटपिट गर्ने एमाले कार्यकर्ता

गत १४ कात्तिकमा दशरथ रंगशालामै भएको साफ महिला च्याम्पियनसिप प्रतियोगितामा समेत प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी भएको थियो । सोमबार पनि प्रधानमन्त्रीविरुद्ध कसैले नारा लगाए ‘ठिक पार्न’ भन्दै युवा संघले चार हजारभन्दा धेरै युवा रंगशालामा उतारेको थियो । एन्फाले १६ हजार टिकट बिक्री गरेको थियो । तर, युवा संघले शक्तिको आडमा चार हजार कार्यकर्तालाई निःशुल्क प्रवेश पास बाँडेको स्रोतको दाबी छ । प्यारापिटका हरेक ब्लकमा युवा संघका कार्यकर्ता खटिएका थिए । उनीहरूलाई ओलीविरुद्ध नारा लगाउने दर्शक पहिचान गर्ने र रंगशालाबाट बाहिर निकाल्ने निर्देशन थियो । सोही निर्देशनअनुसार सोमबार कुटपिट भएको प्रहरी स्रोतले बतायो । 

दर्शक कुट्नेलाई कारबाही गर्न सांसदहरूको माग
सांसदहरूले रंगशालामा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने दर्शकलाई कुट्नेमाथि कारबाहीको माग गरेका छन् । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले रंगशालाभित्रै देखादेखी दर्शक कुट्नेलाई सरकारले कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् । सत्ता र शक्तिको बलमा परिचालित पद्धति अन्त्य हुनुपर्ने उनको माग छ ।

सिंहदरबारमा समितिको बैठकपछि उनले भने, ‘सत्ता र शक्तिको आडमा परिचालित हुने पद्धति अन्त्य हुुनुपर्छ । पुलिसलाई कुट्दा कारबाहीको दायरामा ल्याउनुपर्छ भन्यौँ । त्यस घटनामा संलग्न कुन पार्टीको भनेर हामीले हेरेनौँ । त्यहाँ (रंगशालामा) पनि देखादेखी कुटपिट भयो । ती मान्छेलाई कारबाहीको दायरामा सरकारले ल्याउनुपर्छ ।’ त्यस्तै, राप्रपा सांसद ज्ञानेन्द्र शाहीले रंगशालामा फुटबल हेर्न पुगेका दर्शक कुट्नुलाई ‘ओलीतन्त्रको अराजक गतिविधि’ भनेका छन् । राणा शासनमा भन्दा धेरै अत्याचार भएको उनको भनाइ छ । कार्यव्यवस्था समितिको बैठकपछि उनले भने, ‘रंगशालामा ओली सरकारको गुन्डागर्दी खुलमखुला देखियो । जहानियाँ राणा शासनमा नदेखिएको दृश्य देख्यौँ । प्रहरीकै सामुन्ने पब्लिक कुटिए । बर्दिवाला डिएसपीले कुटपिटमा संलग्नविरुद्ध कारबाही गरेनन् । यो त राणा शासनभन्दा पनि चर्को भयो ।’

सुझावित समाचार