तीन प्रहरी मिलेर एक क्रिप्टो कारोबारीलाई फिल्मी शैलीमा लुटेका छन् । ती प्रहरीसहित सातजनालाई नियन्त्रणमा लिएर काठमाडौं प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
क्रिप्टो कारोबारमा संलग्न धादिङ घर भई टोखा बस्ने २६ वर्षीय रोशन गुरुङलाई प्रहरी वृत्त बानेश्वरका दुई प्रहरी तथा सिनामंगलस्थित सशस्त्र प्रहरी गणका एक प्रहरी मिलेर लुटेका हुन् । हुन्डीको कसुरमा फसाइदिने भन्दै लुटपाट गर्नेहरू आफैँ प्रहरी हिरासतमा पुगेका छन् ।
लुटपाटमा संलग्न नेपाल प्रहरीका सहायक हवल्दार बाँके बैजनाथ घर भएका खगेन्द्र मल्ल ठकुरी, जवान खोटाङ रावाबेँसी घर भएका हिरा मंग्राती, सशस्त्र प्रहरीका सहायक हवल्दार प्युठानका राजेन्द्रकुमार केसीलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले मंगलबार पक्राउ गरेको हो । लुटपाटमा उनीहरूलाई सघाउने मोरङका कपिल बस्नेत, दोलखाका संजोक तामाङ र मोरङका मनीषकुमार रायलाई पनि पक्राउ गरिएको काठमाडौं परिसरले जनाएको छ । क्रिप्टो कारोबारी गुरुङ पनि पक्राउ परेका छन् ।
प्रहरीका अनुसार कपिलले प्रहरीसँग मिलेर लुटपाटको योजना बनाएका थिए । आफूले सस्तोमा क्रिप्टो बेच्ने भन्दै उनले रोशनलाई पैसा लिएर आउन भनेका थिए । सोहीअनुसार रोशन आइतबार १४ लाख लिएर बानेश्वरको एक रेस्टुरेन्टमा पुगे । त्यहाँ उनी कुरा गर्दै गर्दा दुई प्रहरी हतकडी लिएर छिर्छन् र आफ्नो परिचयपत्र देखाउँदै १० लाख रुपैयाँभन्दा धेरैको पैसा हुन्डी हुने भन्दै पक्राउ गरेर मुद्दा चलाइदिने भनेर थर्काउँछन् । पछि मुद्दा नचलाउने सर्तमा सो पैसा लिएर जान्छन् । जुन पैसा प्रहरी र सुराक दिने व्यक्तिले आधा–आधा लिएको काठमाडौं परिसरका एसपी अपिलराज बोहराले बताए । पक्राउ परेका दुई प्रहरी कर्मचारी बानेश्वर वृत्तमा सादा पोसाकमा कार्यरत थिए । सशस्त्र प्रहरीका हवल्दार पनि गणबाट सादा पोसाकमै खटिँदै आएको खुलेको छ ।
माइकलको समूहविरुद्ध एक अर्ब ८७ करोडको मुद्दा, सातैजना जेल चलान
अन्तर्राष्ट्रिय सञ्जाल बनाएर अनलाइन ठगी गरी क्रिप्टो तथा हुन्डीको कारोबारमा संलग्न माइकल डगौराको समूह जेल चलान भएको छ । प्रहरी अनुसन्धानका आधारमा सो समूहविरुद्ध एक अर्ब ८७ करोड ६५ लाख ३० हजार सात सय ५२ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको थियो । जिल्ला अदालत काठमाडौंले माइकलसहित सातैजनालाई गत शुक्रबारै पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको सिआइबीले जनाएको छ ।
प्रहरीले सातजनालाई पक्राउ गरेकोमा अन्य १३ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । अनुसन्धानका क्रममा यस समूहमा बंगलादेशी नागरिकदेखि संयुक्त अरब इमिरेट्स (युएई) तथा अमेरिकामा बस्ने नेपालीको समेत संलग्नता देखिएको छ ।
प्रहरीले डगौरासहित अनिल विश्वकर्मा, पियुष श्रेष्ठ, आश्विन चौलागाईं, सत्यमकुमार सहनी तथा भारतीय नागरिकद्वय रोशन कुमार र मुन्ना कुमारलाई पक्राउ गरेकामा उनीहरू कारागार चलान भएका छन् । उनीहरूविरुद्ध क्रिप्टो कारोबार, ठगी तथा हुन्डीको अभियोग लागेको थियो । प्रहरीले संगठित अपराध मुद्दासमेत चलाउन सिफारिस गरेकोमा सरकारी वकिल कार्यालयले नचलाउने निर्णय गरेको छ । संगठित अपराध स्थापित हुनका लागि आवश्यक आधार नभएकाले अन्य मुद्दा मात्र चलाइएको जिल्ला न्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले बताए ।
प्रहरीले कैलालीका अजय बम, किरण पुन, दोलखाका आशिष चौलागाईं, सिन्धुपाल्चोककी अञ्जली शर्मा, काठमाडौंका दिनेश शर्मा, नुवाकोटका ज्ञानबहादुर तामाङ, सुनसरीका फैजुल्ला अन्सारी, सोलुखुम्बुका जगतबहादुर राई, सिन्धुपाल्चोकका कृष्ण श्रेष्ठ, ललितपुरका रविन व्यञ्जनकार, नवलपरासीकी शोभा भण्डारी र काठमाडौंका आशिषमान श्रेष्ठलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।
उनीहरूले इसेवालगायत मोबाइल वालेट प्रयोगकर्तालाई आफूहरू कम्पनीबाट बोलेको भन्दै ओटिपी मागेर ह्याक गरी पैसा ट्रान्सफर गर्थे । यस्तो पैसा क्रिप्टोमा लगानी गर्दै आएको समेत खुलेको छ । माइकलले बंगलादेशी नागरिक एमडी नाहिमले आफूलाई क्रिप्टोको कारोबार सिकाएको बयान दिएका छन् । यो गिरोहमा युएईमा बस्ने विनोद पौडेल, अमेरिका बस्ने आशिष चौलागाईंलगायतको पनि संलग्नता रहेको र उनीहरूले हुन्डीमार्फत ठुलो कारोबार गर्दै आएको खुलेको छ । पहिलो चरणमा प्रमाण नखुलेका व्यक्तिमाथि दोस्रो चरणमा अनुसन्धान हुने सिआइबीले जनाएको छ ।
कसरी खुल्यो पोल ?
काठमाडौंका एसएसपी विश्व अधिकारीलाई रोशन गुरुङले ठुलो मात्रामा क्रिप्टो कारोबार गर्दै आएको सूचना प्राप्त भयो । उनले रोशनलाई पछ्याउन थाले । सोहीअनुसार सोमबार उनी काठमाडौं– ३ तिलिङेटारमा पक्राउ परे ।
‘पक्राउ परेर सोधपुछ गर्दा अघिल्लो दिन मात्र उनले आफ्नो १४ लाख रुपैयाँ लुटिएको बताए,’ एसएसपी अधिकारी भन्छन्, ‘लुटिएको भनिएको रेस्टुरेन्टमा गएर अनुसन्धान गर्दा हाम्रै प्रहरीका कर्मचारी संलग्न देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढायौँ ।’
प्रहरीका अनुसार मोरङका कपिलको सशस्त्र प्रहरीका सहायक हवल्दार राजेन्द्र केसीसँग चिनजान थियो । सोहीअनुसार उनले सूचना दिन्छन् र केसीले बानेश्वर वृत्तमा घुुमुवाका रूपमा कार्यरत प्रहरीलाई जानकारी दिएर पैसा लुट्ने योजना बनाउँछन् ।
पैसा लुटेलगत्तै बस्नेतको समूहले सात लाख लिएको थियो भने प्रहरीको भागमा पर्ने सात लाख सशस्त्रका सहायक हवल्दार केसीले वाणिज्य बैंकको आफ्नो खातामा राखेका थिए । बस्नेतको समूहसँग भने १२ लाख १० हजार बरामद भएको छ । त्यसमध्ये सात लाख लुटिएकै पैसा भएको र थप पाँच लाखको स्रोत नखुलेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका ६ जनालाई नै डाँका–चोरी मुद्दामा कारबाही अघि बढाएको छ ।
अर्काेतर्फ लुटिएका भनिएका व्यक्ति क्रिप्टोका ठुलो कारोबारी भएको प्रहरी दाबी छ । एसएसपी अधिकारीका अनुसार उनले एक अर्ब ८७ करोड सात लाख १३ हजार रुपैयाँबराबरको कारोबार गरेको देखिएको छ । उनलाई क्रिप्टो कारोबारको अभियोगमा प्रहरीले जिल्ला अदालत काठमाडौंबाट थुनामा राख्न म्याद लिएको छ ।