धनकुटाको पाख्रिबासबाट आएका मूर्तिकार शंकर बराइलीले यहाँको खैरेनीटारमा ढुंगामा विभिन्न कलात्मक आकृति कुँद्न थालेको महिनौँ बितिसकेको छ । विभिन्न व्यक्तिका आकृति कुँदिरहेका उनले श्रमदानका रूपमा काम गरिरहेको बताए।
सानैदेखि मूर्ति बनाउनमा रुचि राख्ने बराइलीले धरान उपमहानगरपालिका– ४ खैरेनीटारमा श्रमदानबाट निर्माण भइरहेको ढुंगेपार्कमा अझ आफ्नो कलालाई निखारिरहेका छन् । उनी भन्छन्, ‘मैले आफ्नो सीपलाई विकास, समृद्धि र पर्यटनमा उपयोग गर्न पाउँदा खुसी छु ।’ फोहोरमैला र झाडीले ढाकेको ठाउँलाई व्यवस्थित गरेर ढुंगामा कलात्मक आकृतिहरू कुँदेर ढुंगे पार्क निर्माण भइरहेको छ ।
स्थानीय कला संस्कृति झल्काई श्रम–संस्कृतिको नमुनाको विकास गर्न ढुंगेपार्क निर्माण थालिएको ढुंगे कला पार्क निर्माण परियोजनाका व्यवस्थापक भैरव आङ्लाले जानकारी दिए। ‘बनमारा र झाडी देख्दा विरक्त लाग्ने ठाउँ थियो । यो ठाउँलाई आन्तरिक र बाह्य पर्यटकको घुम्ने थलो निर्माण थालिएको हो,’ उनले भने ।
धरानका नगर प्रमुख हर्क साम्पाङ राईको नेतृत्वमा श्रमदान गरी निर्माण गरिएका दर्जनौँ पार्क छन् । अझ धरानलाई थप उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने सोचका साथ ढुंगेपार्क निर्माण थालिएको हो । पार्क निर्माणमा विभिन्न संघसंस्था र दाताहरूको सहयोग छ । पार्कमा हाल खोटाङ, ओखलढुंगा, धनकुटा, मोरङ र सुनसरीका आठजना मूर्तिकारले मूर्ति बनाइरहेका छन् ।
श्रमदानबाट बनाइएका पार्कले धरानमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी पर्यटन प्रवर्द्धन हुने धरान उपमहानगरपालिका– ४ का वडाध्यक्ष धनबहादुर राईले बताए ।
यस पार्कमा जीवित व्यक्तिका आकृतिहरू कुँदिएका छन् । जुन ऐतिहासिक र सांस्कृतिक रूपमा महत्त्वपूर्ण हुने वडाध्यक्ष राईले बताए ।