पर्यटन प्रवर्द्धनमा कैलाश गाउँपालिका

आफ्नै लगानीमा दुई धार्मिकस्थल जोड्न १२ सय मिटर जिपलाइन निर्माण

मंगलबार, २० फागुन, २०८१
डिजिटल संस्करण

मकवानपुरको कैलाश गाउँपालिकाले आफ्नै लगानीमा जिपलाइन निर्माण गरेपछि यहाँ घुम्न आउने पर्यटकले जिपलाइनको मज्जा लिन पाउने भएका छन् । गाउँपालिकाले यहाँका दुई प्रमुख धार्मिक एवं पर्यटकीय स्थल कैलाश र वैकुण्ठलाई जोड्ने गरी जिपलाइन निर्माण गरेको हो । 

जिपलाइन निर्माणपछि यहाँ घुम्न आउने पर्यटकले दुई फरक स्थानमा रहेका धार्मिक तथा पर्यटकीय स्थल घुम्न सहजता हुनुका साथै सहासिक पर्यटनको मज्जा लिन सक्ने भएका छन् । साहसिक पर्यटन गर्न रुचाउने पर्यटकका लागि जिपलाइनले थप आकर्षित गर्ने गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानको विश्वास छ ।

गाउँपालिकाले जिपलाइनको शनिबार पहिलो चरणको परीक्षणसमेत गरेको छ । पालिकास्तरबाटै निर्माण भएको पहिलो जिपलाइनको प्राविधिक टोलीसहित गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तान, वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र घिसिङ, योजना शाखा प्रमुख नरेन्द्रदत्त भट्ट, इन्जिनियर अनिल जोशीलगायतको टोलीले परीक्षण गरेको हो । पहिलो चरणमा ब्रेकिङ सिस्टम (सोलोप)सम्बन्धी कार्यको परीक्षण गरिएको जिपलाइन प्राविधिक एवं प्रशिक्षक बद्री घिमिरेले जानकारी दिए । उनका अनुसार दोस्रो चरणको परीक्षणपछि जिपलाइन सञ्चालनमा ल्याउन सकिनेछ ।

गाउँपालिका अध्यक्ष मोक्तानले एक हजार दुई सय मिटर लामो जिपलाइनको निर्माण कार्य सन्ध्या निर्माण सेवाले गरेको जानकारी दिए । 

उनका अनुसार जिपलाइन ८८ लाख ५६ हजार सात सय ६१ रुपैयाँमा निर्माण गरिएको हो । निर्माणस्थल भौगोलिक रूपमा विकट भए पनि निर्माण कम्पनीले तोकिएको समय ०८१ फागुन मसान्तभित्रै जिपलाइन निर्माणको काम सम्पन्न गरेको उनको भनाइ छ ।

पालिकाको बहुवर्षीय योजनाअन्तर्गत निर्माण सम्पन्न भएको जिपलाइनको दुई स्थानमा स्टेसन, ब्रेकिङ सिस्टम (हारनेस) र तार निर्माण गरिएको अध्यक्ष मोक्तानले जानकारी दिए । उनले जिपलाइन निर्माण सम्पन्न भए पनि अन्य भौतिक निर्माणको काम बाँकी रहेकाले जिपलाइनको पूर्ण सञ्चालनका लागि भने केही समय लाग्ने बताए । 

जिपलाइन सञ्चालनपछि छिमेकी जिल्ला धादिङको रोराङ, बेनीघाट र गजुरी गाउँपालिका, मकवानपुरको हेटौँडा, थाहानगर, राक्सिराङ र मनहरी गाउँपालिकालगायतका स्थानबाट पर्यटक आउने विश्वास लिइएको वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र घिसिङले बताए । उनले धादिङसँग सिमाना जोडिएकाले बेनीघाट, थाहानगर र मनहरी बजारलगायतका क्षेत्रबाट जिपलाइन स्थलसम्म पुग्न करिब ३३ किलोमिटरको यात्रा गर्नुपर्ने जानकारी दिए । जिपलाइनसँगै वैकुण्ठमा घुम्न धार्मिकस्थलसँगै पर्यटकीय पार्कसमेत निर्माण भइसकेको अध्यक्ष घिसिङले बताए ।

सुझावित समाचार