जिल्लाको रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८.५ मेगावाट क्षमताको अपर (माथिल्लो) राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । तुँदी पावर प्रवर्द्धक रहेको आयोजनाले बाँध, विद्युतगृह, सुरुङ, प्रसारणलाइन निर्माणलाई पूर्णता दिनुका साथै विद्युतगृहमा उपकरण जडानको काम अन्तिम चरणमा पुगेको हो । सन् २०२५ को जुलाईभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित धमाधम काम भइरहेको आयोजनाका आवासीय इन्जिनियर नरोत्तम कार्कीले जानकारी दिए।
‘हालसम्म सिभिलतर्फ ९५, हाइड्रोमेकानिकलतर्फ ८० र इलेक्ट्रोमेकानिकलतर्फ ७० प्रतिशत प्रगति भएको छ,’ उनले भने, ‘विद्युतगृहमा ‘कन्ट्रोल रुम’ र पानी नदीमा मिसाउने (टेलरेस) बाहेक भौतिक संरचनाको निर्माण सकिएको छ ।’ तुँदी पावरका हाइड्रोमेकानिकल इन्जिनियर घनश्याम भट्टराईले विद्युतगृहभित्र टर्वाइन, जेनेरेटरका उपकरण जडानको काम तीव्रताका साथ भइरहेको बताए।
रघुगंगा– ७ चिमखोलामा बाँध र रघुगंगा– ४ दग्नामको फेदीमा विद्युतगृह रहेको यस आयोजनाको सुरुङ चार हजार नौ सय मिटर लामो छ । ‘आउटलेटबाट विद्युतगृहसम्म ६८० मिटर लामो पेनस्टक पाइप जडानको काम करिब एक सय मिटर मात्र बाँकी छ । विद्युतगृहबाट उत्पादन भएको विद्युतलाई प्रसारणलाइनमा जोड्ने स्विचयार्ड निर्माण थालिएको छ,’ उनले भने ।
तुँदी पावरले राहुघाटमा निर्माण गरेको अर्को ३७.५ मेगावाट क्षमताको मंगले राहुघाट जलविद्युत् आयोजनाको एक महिनाभित्र परीक्षण सुरु गर्ने तयारी भइरहेको भट्टराईले जानकारी दिए। उनका अनुसार रघुगंगा– ८ को बन्दीमा बाँध, रघुगंगा– ७ को चिमखोलामा विद्युतगृह र पाँच हजार ३२८ मिटर लामो सुरुङको सबै काम सकिएको छ । मंगले राहुघाटको विद्युतगृहबाट निस्कने र चिमखोलाको बगरखोलाको पानी मिनाउन मिल्ने गरी अपर राहुघाटको बाँध निर्माण गरिएको छ । दुईवटै आयोजनाको अनुमानित लागत रु. १३ अर्ब रहेको तुँदी पावरका इन्जिनियर भट्टराईले उल्लेख गरे ।
अपर राहुघाट र मंगले राहुघाटबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारणलाइनमा जोड्न रघुगंगा– ३ अम्बाङमा बन्न लगेको राहुघाट सबस्टेसनबाट चिमखोलासम्म दुई सय केभी क्षमताको १४ किलोमिटर दूरीको प्रसारणलाइन निर्माण अन्तिम चरणमा पुगेको उनको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणले अम्बाङमा सबस्टेसन निर्माणमा ढिलाइ गरेकाले वैकल्पिक माध्यमबाट विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोड्ने तयारी गरिएको छ । राहुघाट नदीको सहायक ठुलोखोलामा संयुक्त ऊर्जा प्रालिले २१.३ मेगावाट क्षमताको ठुलोखोला र ठुलोखोला हाइड्रोपावर लिमिटेडले २२.५ मेगावाट क्षमताको माथिल्लो ठुलोखोला जलविद्युत् आयोजना निर्माण गरिरहेका छन् ।
राहुघाट नदीमा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको जनाएको छ ।