शर्माको मुद्दामा सम्पत्ति आर्जनको स्रोतबारे प्रमाण ल्याउन सर्वोच्चको आदेश

मंगलबार, २० फागुन, २०८१
डिजिटल संस्करण

कर फर्स्योट आयोगका सदस्य तथा आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माको मुद्दामा प्रमाण बुझ्ने आदेश भएको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले यस्तो आदेश गरेको हो । 

शर्माको गैरकानुनी सम्पत्ति आर्जनका मुद्दासँगै अन्य ६ मुद्दा पनि लगाउमा छन् । कर फर्स्योट आयोगमा भएको भ्रष्टाचारसम्बन्धी यी मुद्दा उक्त आदेशका कारण आइतबार सुनुवाइ भएनन् । लगाउका मुद्दामा सबैभन्दा अगाडि लुम्बध्वज महतले विशेष अदालतसमेतलाई विपक्षी बनाई दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट छ भने दोस्रोमा शर्माको सम्पत्तिसम्बन्धी मुद्दा छ । 

विशेष अदालतले शर्मालाई कर फर्स्योट आयोगमा भ्रष्टाचार गरेको भनी सजाय सुनाए पनि गैरकानुनी सम्पत्तिको मुद्दामा सफाइ दिएपछि सरकारी पक्ष पुनरावेदनमा पुगेको हो । दुईबुँदे आदेश गर्दै सर्वोच्चले ती कार्य सम्पन्न भएपछि नियमानुसार लगाउका समेत मुद्दा साथै राखी पेस गर्न भनेको छ । 

आफूले ०५८/५९ सालदेखि नै पुस्तक बिक्री गरी आय गरेको विवरण शर्माले अदालतमा पेस गरेका थिए । जबकि उनले नाम लिएको नेपालगन्जको माछापुच्छ्रे बुक्स एन्ड स्टेसनरी सेन्टरले ०६२ साउनबाट मात्र विधिवत दर्ता भई कारोबार गरेको थियो । यसैकारण शर्माले भनेअनुसार दर्ता मितिभन्दा पहिले कारोबार गरेको देखिने कर बुझाएको प्रमाण वा अन्य कुनै लिखत प्रमाण उक्त पसलबाट झिकाउने आदेश भएको छ । 

यसैगरी, नेपालगन्जकै पर्वत पुस्तक पसल एन्ड अर्डर सप्लायर्स कुन मितिमा दर्ता भई कहिलेदेखि कारोबार गरेको भन्ने प्रमाणसमेत अदालतले माग गरेको छ । कर कार्यालयमा कर दाखिला गरेको देखिने भए सो प्रमाण उक्त पसलबाट झिकाउने आदेश संयुक्त इजलासबाट भएको छ । 

शर्माले सार्वजनिक सेवामा प्रवेश गरेयता चार करोड रुपैयाँभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको दाबी छ । उनको चल–अचल सम्पत्ति ०७३ मंसिरसम्म चार करोड २९ लाख रूपैयाँ रहेको तथा खर्च गरेको देखिएको अभियोगपत्रमा थियो । उक्त सम्पत्ति गैरकानुनी स्रोतबाट भएको दाबी पुष्टि नहुने फैसला विशेष अदालतले गरेको थियो । 
 

सुझावित समाचार