केपी ओली कप : तेस्रोपटक मच्छिन्द्र च्याम्पियन

मंगलबार, २० फागुन, २०८१
डिजिटल संस्करण
केपी ओली कप : तेस्रोपटक मच्छिन्द्र च्याम्पियन

उपाधिका साथ मच्छिन्द्रका खेलाडी र अफिसियलहरू । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

  • दशरथ रंगशालामा उपाधिमाथि ह्याट्रिक गर्ने क्रममा मच्छिन्द्र फुटबल क्लबले पहिलोपटक फाइनल पुगेको त्रिभुवन आर्मीलाई २–० ले हरायो

मच्छिन्द्र फुटबल क्लबले केपी ओली कपको उपाधिमाथि ह्याट्रिक गरेको छ । दशरथ रंगशालामा सोमबार तेस्रो संस्करणको फाइनलमा मच्छिन्द्रले विभागीय त्रिभुवन आर्मी फुटबल क्लबलाई २–० ले हराउँदै लगातार तेस्रोपटक उपाधि हात पारेको हो । यसअघि पहिलो संस्करणको फाइनलमा सातदोबाटो युथ क्लब तथा दोस्रो संस्करणको फाइनलमा एनआरटी क्लबलाई टाइब्रेकरमा हराउँदै मच्छिन्द्रले उपाधि जितेको थियो । मच्छिन्द्रले १५ लाख ११ हजार ११ र उपविजेता आर्मीले पाँच लाख रुपैयाँ पाएका छन् । प्रतियोगिताको फाइनलमा फिफा विश्वकप विजेता इटालियन गोलरक्षक जियानलुइजी बुफोन प्रमुख अतिथिका रूपमा थिए । 

मच्छिन्द्रले सिजनकै दोस्रो उपाधि जितेको हो । यसअघि इटहरी गोल्डकप मच्छिन्द्रले पहिलो उपाधिका रूपमा भित्र्याएको थियो । सोमबार मच्छिन्द्रले समग्रमा चौथो फाइनल खेलेको हो । आर्मी भने पहिलोपटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेन । आर्मीले मच्छिन्द्रविरुद्ध अन्तिम समयसम्म चुनौती दिइएको थियो । तर, अनुभवी मच्छिन्द्रले आर्मीविरुद्ध मानसिक खेल खेल्यो । अधिकांश समयमा बल पोसेसन राख्दै मच्छिन्द्रले विपक्षीमाथि दबाब बनाएको थियो । मच्छिन्द्रले पहिलो गोलको अग्रता आत्मघाती रूपमा पायो । 

उपाधि रक्षा गर्ने क्रममा मच्छिन्द्रका लागि स्टेफनले एक गोल थपे । आर्मीका विमल पाण्डेले सुरुवाती आत्मघाती गोल गरेका हुन् । खेलको २९औँ मिनेटमा मच्छिन्द्रले अग्रता बनायो । दायाँ साइडबाट एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले डिबक्समा बल प्रहार गरेका थिए । उनले प्रहार गरेको बल आर्मीका डिफेन्डरअगाडि बाउन्स भएको थियो । बललाई क्लियर गर्ने क्रममा विमलले आफ्नै पोस्टमा बल छिराए । विमलले आत्मघाती गोल गर्नुअघिसम्म आर्मीले मच्छिन्द्रमाथि काउन्टरमा दबाब बनाएको थियो । खेलको ३५औँ मिनेटमा मलिक युसुफको सटिक प्रहारलाई आर्मीका गोलरक्षक विकेश कुथूले अगाडि आएर क्लियर गरे ।

आर्मीले गुमाएको मौका 
मध्यान्तरपछि आर्मीले बराबरी गोल फर्काउने अपेक्षा थियो । आक्रामक रूपमा प्रस्तुत भएको आर्मीले दोस्रो हाफमा केही गोलका लागि राम्रो सिर्जना गरेको थियो । खेलको ५१औँ मिनेटमा दिनेश हेन्जानको सटिक पासमा जिलेस्पीजंग कार्कीले डिबक्सभित्र बल छुन सकेनन् । पोस्टको लाइननजिक रहेका डिफेन्डर देवेन्द्र तामाङले दिनेशको प्रहारलाई क्लियर गरेका थिए । खेलको ५४औँ मिनेटमा आर्मीका नीराजन धामीको उत्कृष्ट पासमा डिबक्सभित्र रहेका अनुभवी स्ट्राइकर नवयुग श्रेष्ठले सहज गोल गर्न सकेनन् । उनले डिबक्सभित्रबाटै प्रहार गरेको बल क्रसबारनजिक हुँदै बाहिरियो । 

आर्मीले दोस्रो हाफमा पाएको एउटा बराबरी गोल अवसर नवयुगले खेर फाले । सहज गोल मौका चुकाइरहेका स्ट्राइकर नवयुगलाई तत्कालै आर्मीका प्रशिक्षक मेघराज केसीले मैदानबाट निकाले ।

स्टेफनले गरे विजयी गोल
आर्मीले निरन्तर रूपमा गोल प्रयास गरिरहे पनि मच्छिन्द्रले विपक्षीको गल्तीमा गोल गर्ने योजना बनाएको थियो । खेलको ७२औँ मिनेटमा मच्छिन्द्रले २–० को अग्रता लियो । मल्लिक युसुफले डिबक्सअगाडिबाट निकालेको क्रसमा स्टेफन जमाहा सहजै वान टर्चमै पहिलो बारमा गोल गरे । 

आर्मीका गोलरक्षक विकेशसमक्ष स्टेफनको प्रहार छेक्न मौका रहेन । प्रतियोगितामा मच्छिन्द्रले पहिलो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेड १–० ले सेमिफाइनलमा स्थान बनाएको थियो । सेमिफाइनलमा मच्छिन्द्रले आयोजक केपी ओली एफसीमाथि ४–० को सानदार जित निकालेको थियो । आर्मीले पहिलो खेलमा अर्को विभागीय क्लब नेपाल पुलिसलाई २–० ले हराएको थियो । फाइनल प्रवेश खेलमा आर्मीले संकटालाई २–१ ले निराश पारेको थियो ।

सनिश श्रेष्ठ बने सर्वोत्कृष्ट खेलाडी 
मच्छिन्द्रका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी बनेका छन् । आयोजकबाट उनले एक लाखसहित यमाहा–१२५ मोटरसाइकल पाएका छन् । यसैगरी, उत्कृष्ट गोलरक्षक मच्छिन्द्रका विशाल श्रेष्ठ र सर्वाधिक गोलकर्ता मच्छिन्द्रकै स्टेफन जमाहा चुनिए । आर्मीका निराजन धामी प्रतियोगिताकै उदीयमान खेलाडी बने । उत्कृष्ट हुने खेलाडीले ५० हजारसहित यमाहा–१२५ मोटरसाइकल पाएका छन् । प्रतियोगिताका विजयी तथा उत्कृष्ट खेलाडीलाई प्रधानमन्त्री केपी ओलीले पुरस्कार वितरण गरेका थिए । 
 

सुझावित समाचार