सुदूरपश्चिम स्पोर्टस् अवार्ड चैत ७ गते

सोमबार, १९ फागुन, २०८१
डिजिटल संस्करण

‘सुदूरपश्चिम स्पोर्टस् अवार्ड २०८१’ आगामी चैत ७ गते आयोजना हुने भएको छ। छैटाैँ संस्करणको अवार्ड आगामी चैत ७ गते हुने गरी तयारीमा जुटेको नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले बताए।

‘सुदूरपश्चिम स्पोर्टस् अवार्डले खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउन सफल तथा सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरूलाई देशको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउन उत्प्रेरणा प्रदान गर्दै आएको छ,’ उनले भने, ‘छैटौँ संस्करणलाई थप स्तरीय बनाउनका लागि अहिलेदेखि नै तयारी थालेका छौँ। यसपालि खुला मैदानमा अवार्ड आयोजनाको तयारी थालेका छौँ।’

अवार्डमा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न आठ विधामा अवार्ड प्रदान गरिने मञ्चका कोषाध्यक्ष नवराज पनेरूले बताए। उनका अनुसार उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५–३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार तथा वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने कोषाध्यक्ष पनेरूले जानकारी दिए।

यस्तै, सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी प्रदान गरिनेछ। यस्तै, अवार्डलाई सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले साथ दिएको छ। अवार्ड कार्यक्रमलाई हरेक वर्ष प्रवर्द्धन गर्दै आएको सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले यसपालि पनि मुख्य प्रवर्द्धक भएर साथ दिएको हो।

सुझावित समाचार