चीन भ्रमणमा रहेको नेपाली कांगेसको प्रतिनिधिमण्डलसँग चीनले बिआरआई परियोजना अनुदान नभएको स्पष्ट पारेको छ। चीनको बेइजिङमा चिनियाँ कूटनीतिज्ञ सरला र रेनमिन विश्वविद्यालयका प्राध्यापक डा. सिलुसहितले बिआरआई अनुदान नभई व्यावहारिक सहयोग भएको स्पष्ट पारे।
उनीहरूले सहुलियत ब्याजदरमा नेपालले विविध क्षेत्रमा ऋण लिएर आफ्नो देशको विकास गर्न सक्ने धारणा राखे। यसका लागि केही सर्तहरू चीन सरकारका रहने र त्यसबारे सम्झौताको चरणमा खुलस्त पारिने पनि उनीहरूले स्पष्ट पारे।
चिनियाँ प्रतिनिधिमण्डललाई जवाफ दिँदै पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेतृ सुजता कोइरालाले नेपाल अनुदान नभई ऋण लिन इच्छुक रहेको धारणा राखिन्। देशको आत्मसम्मान, स्वाभिमान, राष्ट्रिय स्वाधीनता, देशको विकास र समृद्धि तथा दुई देशबिचको परस्पर सम्बन्धका लागि पनि ऋण उपयुक्त हुने उनको भनाइ थियो।
बिआरआई कार्यान्वयनमा लैजाँदा नेपालको पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, कला, संस्कृतिसहित चौतर्फी विकासमा मद्दत पुग्नुका साथै नेपाली कामदारका लागि चीनमा रोजगारीसमेत सिर्जना हुने कोइरालाको भनाइ छ। चिनियाँ कामदारले पनि नेपालमा व्यवसाय र रोजगारीको अवसर पाउने उनले बताइन्।
बिआरआई पूर्णतः अनुदानमा खोज्नु भनेको नेपालको विकास गर्न नचाहनु र बिआरआई नेपालमा असफल पार्ने मनसाय भएको उनको भनाइ छ।
नेता बर्मा लामाले भने बिआरआईमा अझै स्पष्ट हुनुपर्ने भएकाले नेपाली जनतालाई बुझाउन चिनियाँ पक्षलाई आग्रह गरे। अन्तर्क्रियामा कांग्रेस नेतृ किरण यादव, बर्मा लामा, देवराज चालिसे, उज्वल बराललगायत सहभागी थिए।