पछिल्लो समय नेपालगन्ज नाका हुँदै लागुऔषध ओसारपसारका घटना बढेपछि प्रहरीले बाँकेलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ। पछिल्लो १५ दिनमा नेपालगन्ज क्षेत्रबाट लागुऔषध ओसारपसारमा संलग्न १० जना पक्राउ परेपछि प्रहरीले विशेष सतर्कता अपनाएको हो।
बाँके प्रहरी प्रमुख तुलबहादुर कार्कीका अनुसार लागुऔषध ओसारपसारका घटना बढेपछि बाँके प्रहरीले लागुऔषध नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेकाे छ। यही क्रममा हरेक दुई दिनमा एक–दुईजना लागुऔषध ओसारपसार तथा कारोबारी पक्राउ पर्ने गरेको उनले बताए। पछिल्लो १५ दिनमा १० जना लागुऔषध ओसारपसार तथा प्रयोगकर्तालाई पक्राउ गरिसकेको र उनीहरूविरुद्ध मुद्दा दायर गरिएको छ।
उनले १५ दिनमा एक किलो एक सय ग्राम ब्राउनसुगर, चार किलो २२० ग्राम चरेस र पाँच हजार ट्याब्लेट ट्रामाडोल ट्याब्लेट बरामद गरेको बताए। ‘अपराध नियन्त्रणअन्तर्गत बाँके प्रहरीको पहिलो प्राथमिकतामा लागुऔषध नियन्त्रण रहेको छ,’ एसपी कार्कीले भने, ‘नेपालगन्ज लागुऔषधको ट्रान्जिट प्वाइन्ट बन्न थालेपछि प्रहरीले नियन्त्रण गर्न अभियान थालेको हो। यो अभियान जारी रहनेछ।’
लागुऔषध ओसारपसार गर्ने भरियालाई मात्र नभई मुख्य कारोबारीलाई पक्राउ गर्ने योजनाका साथ बाँके प्रहरी अगाडि बढेको उनको भनाइ छ। उनले लागुऔषध नियन्त्रणका लागि बाँकेको प्रमुख नाका जमुनाहा र अन्य सहायक नाकामा कडाइ गरिएको बताए। ‘नाकामा प्रहरी परिचालन गरिएको छ, सुराकीका लागि लागुऔषध प्रयोगकर्तालाई समेत परिचालन गरिएको छ,’ कार्कीले भने।
उनले जिल्ला प्रहरी कार्यालयमा सबैभन्दा धेरै लागुऔषध मुद्दाका थुनुवा भएको बताए। लागुऔषध मुद्दाका थुनुवाका कारण जिल्ला प्रहरी कार्यालयको थुनुवा कोठा भरिएको बताए। ‘लागुऔषधका थुनुवा दिन प्रतिदिन थपिँदै गएपछि राख्ने ठाउँसमेत अभाव भएको छ,’ उनले भने।