उपचारका नाममा सर्वसाधारणसँग चर्को शुल्क असुल्दै आएका रौतहटको चन्द्रनिगाहपुरमा सञ्चालनमा रहेका नौवटा अस्पताल आइतबारदेखि बन्द भएका छन् । सम्बन्धित निकायबाट अनुमति नै नलिई खुलेका अस्पतालले बिरामीसँग चर्को शुल्क लिने गरेको गुनासोपछि शनिबार मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अनुगमन तथा निरीक्षण गरेका थिए । विभिन्न निजी अस्पताल अनुगमन गर्दा दर्तासमेत नभएका र नियमविपरीत चलाएको पाइएपछि सिंहले बन्द गर्न निर्देशन दिएका थिए ।
चन्द्रपुर नगरपालिका– ४ मा सञ्चालित ट्रमा हाइवे सेन्टर, सिभिल अस्पताल, चन्द्रपुर सामुदायिक अस्पताल र सिम्स अस्पताल दर्ता र मापदण्डविपरीत चलाइएको पाइएपछि मुख्यमन्त्री सिंहले तत्कालै बन्द गर्न सञ्चालकलाई पत्र थमाएका थिए । उनी अनुगमनमा आएको थाहा पाएपछि पब्लिक लाइफ केयर पोलिक्लिनिक, चपुर सिटी अस्पताल, हिमालयन पोलिक्लिनिक प्रालि, चपुर अर्थोपेडिक एन्ड जनरल अस्पताल, चन्द्रपुर आँखा तथा दाँत उपचार केन्द्र तथा एपोलो अस्पतालका सञ्चालक सटर तानेर भागेका थिए । आइतबार ती कुनै अस्पताल खुलेनन् ।
मुख्यमन्त्री सिंहले चन्द्रनिगाहपुरमा अधिकांश अस्पताल दर्ता नै नगरी सञ्चालनमा रहेको र आइसियू, इमर्जेन्सी कक्ष मापदण्डविपरीत भएको पाइएको बताए । अनुगमनका क्रममा दर्ता नै नभएको हाइवे ट्रमा अस्पताल र सिभिल अस्पतालले काठमाडौंका ठूला अस्पतालसरह बिरामीसित रकम असुलेको पाइएको उनको भनाइ छ । मुख्यमन्त्री सिंहले बन्द गर्न निर्देशन दिए पनि अटेर गरेर अस्पताल खोलेमा सञ्चालकमाथि कारबाही हुने इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राईले बताए ।
१५ शड्ढयाको अस्पताल सञ्चालनका लागि स्थानीय तहसँग अनुमति लिएको हुनुपर्छ । त्यसभन्दा माथि प्रदेशको स्वास्थ्य मन्त्रालयबाट स्वीकृत लिनुपर्ने प्रावधान छ । रौतहटका चन्द्रपुर, वृन्दावन, गरुडा, यमुनामाई गौर, कटहरियालगायत क्षेत्रमा सञ्चालनमा रहेका धेरै अस्पताल दर्ता नभएको र मापदण्डविपरीत रहेको स्वास्थ्य कार्यालय गौरले जनाएको छ । अधिकांश अस्पतालमा एम्बुलेन्स रोक्ने पार्किङ स्थलसमेत छैन । कुनै नहरको डिलमा सञ्चालनमा छन् । यस्ता अस्पतालको निगरानी र अनुगमन हुन नसक्दा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।
सतिशकुमार सिंह, मुख्यमन्त्री, मधेश प्रदेश
चन्द्रनिगाहपुरका अधिकांश अस्पताल दर्ता नै नगरी सञ्चालनमा रहेको र आइसियू, इमर्जेन्सी कक्ष मापदण्डविपरीत छन् । अनुगमनका क्रममा दर्ता नै नभएको हाइवे ट्रमा अस्पताल र सिभिल अस्पतालले काठमाडौंका ठूला अस्पतालसरह बिरामीसित रकम असुलेको पाइयो ।