विधायकी भूमिका निर्वाह गर्नुपर्ने दायित्वबाट राष्ट्रिय सभाका सदस्यहरू फेरि चुकेका छन् । विज्ञहरूको सभाका रूपमा रहेको राष्ट्रिय सभामा आइतबार विधेयकमाथिको छलफलमा सांसदहरूले अरुचि र बेवास्ता देखाएका छन् । प्रतिनिधिसभाबाट पारित भई सन्देशसहित आएको बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयकको सैद्धान्तिक छलफलमा ५९ सदस्यीय राष्ट्रिय सभाका कुनै पनि सांसद सहभागी भएनन् ।
संसद् सचिवालयका अनुसार आइतबारको बैठकमा ४० भन्दा बढी सांसद उपस्थित थिए, तर तीमध्ये कसैले पनि विधेयकमाथि बोल्न नाम टिपाएनन् । सो विधेयकमाथि आइतबार राष्ट्रिय सभामा सैद्धान्तिक छलफलको कार्यसूची थियो । १२: १५ बजे बसेको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले छलफलका लागि विचार गरियोस् भन्ने प्रस्ताव राखे । त्यसपछि राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले प्रस्तावमाथि छलफल प्रारम्भ भएको घोषणा गर्दै सांसदहरूलाई दुई मिनेटभित्र नाम उपलब्ध गराउन आग्रह गरे । छलफलमा भाग लिने सांसदका लागि तीन मिनेटको समय तोकिएको थियो । तर, आधा मिनेटसम्म सचिवालयका कर्मचारी र अध्यक्षले सत्ता र प्रतिपक्ष दुवैतर्फका रोमा हेरिरहे, तर कुनै सांसदले न हात उठाए, न नाम टिपाए ।
बैंकिङ कसुरसम्बन्धी व्यवस्था गर्न ल्याइएको महत्वपूर्ण विधेयकको छलफलमा भाग लिन कसैले पनि नाम नटिपाएपछि अध्यक्ष दाहालले ‘विधेयकको छलफलमा भाग लिन कुनै पनि सदस्यबाट नाम प्राप्त नभएको’ घोषणा गरे । छलफलविनै अध्यक्ष दाहालले प्रस्ताव निर्णयार्थ प्रस्तुत गरे । सर्वसम्मतले विचार गरियोस् भन्ने उनको प्रस्ताव सर्वसम्मत स्वीकृत भयो ।
३५ वर्षमाथि उमेरका मात्रै सदस्य हुने विज्ञ सभाका सदस्यहरूले सैद्धान्तिक छलफलमा अध्ययनसहित विधेयकमा आलोचनात्मक टिप्पणी, सुझाव दिन्छन् र त्यसको जवाफ दिन्छु भनेर तयारी अवस्थामा बसेका अर्थमन्त्री पौडेलले त्यो अवसर पाएनन् । विचार गरियोस् भन्ने स्वीकृत भएपछि अध्यक्ष दाहालले विधेयकमा संशोधन राख्न ७२ घण्टा समय खुला भएको घोषणा गरे ।
१६ असोज ०८० मा दर्ता भएको विधेयकलाई प्रतिनिधिसभाले २७ माघ ०८१ मा पारित गरेर सन्देशसहित राष्ट्रिय सभा पठाएको थियो । विधेयकमा खातामा रकम नभई चेक जारी गर्न नपाउने व्यवस्था छ । चेक अनादरमा जरिवाना र कैद सजाय हुने व्यवस्था पनि गरिएको छ । यसैगरी यस्ता कसुरमा मिलापत्र गर्ने सक्ने व्यवस्था छ । राष्ट्रिय सभाका पूर्वसदस्य एवं संविधानविद् राधेश्याम अधिकारीले सदस्यहरूले बोल्ने मौका पाउँदा बोल्दैनन् भने के भन्ने भनेर असन्तुष्टि जनाए । राष्ट्रिय सभाको भूमिकालाई प्रखर बनाउन भूमिका खेलेका पूर्वसदस्य रामनारायण बिडारीले चौतर्फी विकृतिको शृंखलामा राष्ट्रिय सभा पनि परेको बताए ।
यसअघि राष्ट्रिय सभामा विद्युतीय व्यापार विधेयकमाथिको छलफलमा सांसदहरूले विद्युत् व्यापार विधेयकबारे धारणा राखेका थिए । सांसदहरू मात्रै होइन, तत्कालीन उद्योगमन्त्रीले समेत विद्युत् व्यापारकै जवाफ दिएपछि राष्ट्रिय सभा अध्यक्षले छलफल सकिएपछि विद्युतीय व्यापार विधेयकको छलफल हो भनेर स्मरण गराएका थिए । जुन राष्ट्रिय लज्जाको विषय बनेको थियो । पछिल्लो समय राष्ट्रिय सभालाई वृद्धाश्रम भनेर टीका–टिप्पणी भइरहेको छ ।
प्रतिनिधिसभामा राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले ‘राष्ट्रिय सभा नै वृद्धाश्रम भएपछि कसको के नै लाग्छ ?’ भनेर फेसबुकमा टिप्पणी गरेका थिए । शाहीको टिप्पणीप्रति राष्ट्रिय सभाले ४ फागुनमा खेद प्रस्ताव पारित गर्दै ‘आइन्दा आफ्ना विचार सम्प्रेषण गर्दा सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक हुन’ निर्देशन दिएको थियो ।
राष्ट्रिय सभाका पूर्वसदस्य तथा कानुनविद् रामनारायण बिडारीको टिप्प्णी– चौतर्फी विकृतिको शृंखलामा राष्ट्रिय सभा पनि परेको छ
सांसदहरूले आफ्नो काम बिर्सिए । अर्काेतर्फ, सांसदहरू बिचरा छन् । कुनै प्रकारको अध्ययनको सुविधा छैन । न विशेषज्ञ, न सचिवालय, न पुस्तकालय, न अभिलेखालयको छ । सबै कर्मचारीमा भर पर्छन् । चौतर्फी विकृतिको शृंखलामा राष्ट्रिय सभा परेको छ । विधेयकबारे संसदीय दलहरूमा पनि छलफल हुँदैन ।
प्रतिनिधिसभाबाट पारित भई सन्देशसहित आएको बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयकमाथि आइतबार राष्ट्रिय सभामा सैद्धान्तिक छलफलका लागि प्रस्ताव राख्दै अर्थमन्त्री विष्णु पौडेल । तर, सत्तापक्ष र प्रतिपक्ष सांसदहरूले सैद्धान्तिक छलफलमा भाग नलिएर केही नबिग्रिएको र समितिमा छलफल गरेर समृद्ध बनाउने बताएका छन् । कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायले भने, ‘सैद्धान्तिक छलफल नहुनेबित्तिकै माननीयको ध्यान गएन भन्न मिलेन । संशोधन हालेर समितिमा गहिरो छलफल गरेर समृद्ध बनाउँछौँ ।’ माओवादी प्रमुख सचेतक गोपीबहादुर सार्की अछामीले पनि सैद्धान्तिक छलफल नहुँदा खासै फरक नपर्ने बताए । ‘आजको बैठकमा म थिइनँ । सैद्धान्तिक छलफलमा भाग नलिए पनि संशोधन हालेर समितिमा हेर्छाैँ,’ उनले भने, ‘ज्ञान, अध्ययन र पूर्वतयारी नभएर पनि होला । त्यसले खास केही फरक पर्दैन । विधायन समितिमा गएर छलफल गरेपछि मिल्छ ।’