कर्णालीमा कृषिक्रान्ति विस्तार गर्दै विप्लव

आइतबार, १८ फागुन, २०८१
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव पछिल्लो समय देशभर कृषिक्रान्ति विस्तार गर्ने अभियानमा सक्रिय रूपमा लागेका छन्। यही क्रममा उनी अहिले कर्णाली प्रदेशका विभिन्न जिल्लामा भेटघाटमा छन्। 

अभियानका क्रममा आइतबार उनी कालीकोटको नरहरिनाथको माल्कोट, रुप्सालगायतका गाउँ पुगेका छन्। माओवादी विभाजनपछि मंसिर ०७१ मा आफ्नै नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गरेका विप्लवले अहिले राजनीति मात्र नभई कृषि र औद्योगिक क्षेत्रमा समेत आफ्नो ध्यानकेन्द्रित गरेका छन्।

उनको नेतृत्वको नेकपामाथि हिंसात्मक गतिविधिको आरोपमा २८ फागुन ०७५ मा केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले प्रतिबन्ध लगाएको थियो।

भूमिगत अवस्थमा रहँदै आएका विप्लव २१ फागुन ०७७ मा सरकारसँग तीनबुँदे सहमति गर्दै सार्वजनिक भए। त्यसयता, उनले गृह जिल्ला कपिलवस्तुको शिवगढीमा सामूहिक कृषि खेती सुरु गरिसकेका छन्। ‘आत्मनिर्भर अर्थतन्त्र, आत्मनिर्भर उत्पादन, आत्मनिर्भर पार्टी र आत्मनिर्भर नेता एवं कार्यकर्ता’ नारासहित नेकपा पछिल्लो समय कर्णालीका बाँझो जमिनमा खेती अभियानमा सक्रिय छ। जुम्ला, कालिकोट, मुगु, हुम्लालगायतका जिल्लामा स्याउ, ओखर खेती र भेडापालन अभियान सञ्चालन भइरहेको छ।

गत ११ फागुनमा जुम्लाको हिमा गाउँपालिका–७, धौलापानीमा करिब १३ हजार वर्गमिटर क्षेत्रफलमा दुई हजार स्याउका बिरुवा तथा चार सय दाँते ओखरका बिरुवा रोपिएको छ। यसका लागि सहिद परिवारकी कृष्णकौरा शाहीको जग्गा २० वर्षका लागि लिजमा लिइएको छ।

कालीकोटमा गत १२ फागुनमा तिला गुफा नगरपालिकास्थित फोइमा एक हजार स्याउ र पाँच सय दाँते ओखर रोपिएको छ। नेकपाले गत वर्ष पनि त्यहाँ दुई हजार स्याउ रोपेको थियो। हुम्ला, मुगु, सुर्खेत, दैलेख, सल्यान, जाजरकोट, रुकुम पश्चिमका विभिन्न क्षेत्रमा पनि धान, कोदो, दाल तथा अन्य बाली लगाइएको छ।

नेकपाले कालीकोटको रुप्सा गाउँका रामबहादुर बोहोराबाट २० लाखमा ९० वटा भेडा खरिद गरेको थियो। हाल भेडाको संख्या एक सय १८ पुगेको छ। ती भेडाको रेखदेख ध्रुव सीको अध्यक्षतामा पाँचजनाको टोलीले गरिरहेको छ। शनिबार मात्रै विप्लवले त्रिवेणी साझेदारी भेडा फार्म उद्घाटन गरेका छन्।

विप्लवले नेपाली युवाहरूलाई खाडीका मरुभूमिमा श्रम बेच्नुभन्दा स्वदेशमै श्रम गरौँ, उत्पादन बढाऔँ भन्दै कृषि र पशुपालनमा लाग्न आह्वान गरे। ‘राजनीति मात्र गरेर हुँदैन, उत्पादनसँग जोड्नुपर्छ,’ उनले भने, ‘हिमालमा स्याउ, जडीबुटी, ओखर, पहाडमा सुन्तला, तराईमा धान, तरकारी तथा फलफूल उत्पादनमा जोड दिनुपर्छ।’

तीनै तहका सरकारले उत्पादनशील क्षेत्रमा लगानी गर्न नसकेको आरोप लगाउँदै उनले सबै पार्टीले उत्पादन वृद्धिका लागि योजना ल्याउनुपर्ने बताए। ‘हाम्रो पार्टी अब उत्पादन वृद्धिका क्षेत्रमा केन्द्रित हुनेछ,’ उनले भने। कर्णालीका विभिन्न जिल्लामा कृषिक्रान्तिको अभियान सञ्चालन गरेका विप्लव आइतबार काठमाडौं फर्किएका छन्।

सुझावित समाचार