सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयमा विद्युत् सर्ट भएर आगलागी भएको छ । गाउँपालिकाको केन्द्र काफ्लेचौरस्थित पालिकाको कार्यालय रहेको घरमा आइतबार दिउँसो आगलागी भएको हो ।
गाउँपालिकाको प्राविधिक शाखा, स्टोर र प्रधानमन्त्री रोजगार शाखा रहेको स्थानीय रुद्रबहादुर खत्रीको ढुंगा, माटो र टिनको छानो भएको घर जलेर नष्ट भएको लिखुपिके गाउँपालिका अध्यक्ष मीना कार्की बस्नेतले जानकारी दिइन्। उनका अनुसार गाउँपालिकाको महत्त्वपूर्ण कागजात र स्टोरमा राखिएका सामग्रीहरू जलेर नष्ट भएका छन्। यद्यपि, क्षतिको यकिन विवरण आइसकेको छैन।
सोलुखुम्बुका प्रहरी प्रमुख द्वारिकाप्रसाद घिमिरेका अनुसार बिजुली सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरी चौकी चौलाखर्कबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा आगो निभाएको थियो।
बिजुली सर्ट भएर सुरु भएको आगो पालिकाको स्टोरमा रहेको ग्यास सिलिन्डरसमेत विस्फोट भएपछि थप फैलिएको थियो।
दुई दिनदेखि यस क्षेत्रमा विद्युत् अवरुद्ध थियो। विद्युत् सुचारु भएलगत्तै सर्ट भएर आगलागी भएको हो। आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन।