लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता ५–१५ वैशाखमा हुने भएको छ। १९–२९ फागुनमा हुने भनिएको प्रतियोगिता प्राविधिक कारणले सार्नुपरेको आयोजकका कार्यकारी प्रमुख जयनारायण शाहले बताए।
उनका अनुसार यही समयमा अखिल नेपाल फुटबल संघ काठमाडौंमा र बाँकेमा समेत दुईवटा फुटबल प्रतियोगिता पर्ने भएकाले मिति सार्नुपरेको हो। ‘बाँकेको कोहलपुरमा ‘कोहलपुर गोल्ड कप’ १७ फागुनदेखि गर्ने भनिएको थियो। नेपालगन्जमा १९ फागुनदेखि अर्को फुटबल प्रतियोगिता आयोजना गरे दुईवटा प्रतियोगिता जुध्ने भएपछि मिति सार्नुपरेको हो,’ उनले भने।
प्रतियोगितामा भारतका दुईसहित आठ टिमको सहभागिता रहने आयोजकले जनाएको छ। थप भएको समयमा खेल मैदानको स्तरवृद्धिलगायत काम हुनेछ। ‘लुम्बिनी प्रदेशबाट खेल्ने टिमको छनोट तथा प्रशिक्षण र खेल मैदानको व्यवस्थापन गर्न थप भएको समयले सहयोग गरेको छ,’ उनले भने।
बाँके जिल्ला फुटबल संघले लुम्बिनी प्रदेशको टिम छनोट र प्रशिक्षण गरिरहेको शाहले बताए।
नेपालगन्ज रंगशालामा आयोजना हुने प्रतियोगितामा सुदूरपश्चिम र कर्णाली प्रदेशसँगै नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफ क्लबको टिमसमेत सहभागी हुनेछ। ‘प्रतियोगितामा सहभागी हुन धेरै क्लबले चासो दिएका थिए। ए डिभिजनका क्लबलाई मात्र सहभागी गराउने योजना भएकाले आठवटा छनोटमा परे,’ शाहले भने।
प्रतियोगिता आयोजना गर्न एक करोड ३५ लाख खर्च लाग्ने आयोजकले अनुमान गरेको छ। उनले पुरुष फुटबल प्रतियोगिता आयोजना गर्नेभन्दा महिला फुटबल आयोजना गर्न कठिन हुने बताए। ‘महिला फुटबल विश्वमै कम खेलाइन्छ। नेपालमा झन् यो खेलका लागि खेलाडी पाइन मुस्किल पर्छ। आर्थिक सहयोग गर्नेहरू पनि खासै चासो दिँदैनन्,’ उनले भने।