नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुराना दलसँगको सहकार्यले उनीहरूभित्रको रोग माओवादीमा पनि संक्रमण भएकाले रोगको उपचार खोज्न जनताको बिचमा आएको बताएका छन्।
जनतासँग माओवादी तराई मधेश जागरण अभियानअन्तर्गत धनुषाको हंसपुर नगरपालिकामा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो धारणा राखेका हुन्। कांग्रेस र एमालेसँगको सहकार्यले सरेको रोग पहिचान गरेर यसको उपचार गर्ने डाक्टर जनता मात्रै हुन् भन्ने निष्कर्षसहित जनताको बिचमा आएको उनको भनाइ थियो।
माओवादीप्रति विश्वास गरेका लाखौँ जनताको विश्वास कायम राख्न नसक्नु कमजोरी भएको उल्लेख गर्दै प्रचण्डले सबैभन्दा पहिले आफ्ना कमी-कमजोरी सच्याएर जनतातिर फर्कन केन्द्रीय समिति बैठकले दिएको निर्देशनअनुसार पार्टीको सन्देश बोकेर यो अभियान थालिएको बताए। हुलाकी मार्गवरिपरि सबैभन्दा धेरै उत्पीडित वर्ग र समुदायको बसोबास रहेकाले समुदायभित्रै छिरेर जनताको मनको कुरा नजिकबाट बुझ्ने कोसिस गरिरहेको उनको भनाइ थियो।
अध्यक्ष प्रचण्डले हुलाकी मार्गकेन्द्रित अभियानले दक्षिण नेपालको रूपरेखा फेर्न सहयोग गर्ने बताए। लामो समय अलपत्र परेको हुलाकी मार्ग अघि बढाउन आफूले २०७३ सालमा प्रधानमन्त्रीको रूपमा भारत भ्रमण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी सहयोग सुचारु गरेपछि योजना अघि बढेको जानकारी दिए।
प्रतिक्रियावादी दिशाउन्मुख रहेकाले नक्कली मधेशवादी दलसँग सावधान रहन उनले आग्रह गरे। मधेशको मुक्तिविना देशको मुक्ति सम्भव छैन भन्ने दृढ मान्यताका साथ पार्टीले सबैभन्दा पहिले मधेशी मुक्ति मोर्चा गठन गरेर जनयुद्ध थालनी गरेको स्मरण गराउँदै प्रचण्डले मधेशसँगै वर्गीय मुक्तिका लागि जीवन आहुति दिने सबै सहिदका सपनाको जिम्मेवारी माओवादीले लिने प्रतिबद्धता व्यक्त गरे।