धनगढी उपमहानगरपालिका– ९ स्थित शैलेश्वरी सामुदायिक वनभित्र दुईजनाको शव फेला परेको छ । धनगढी– १० का ३२ वर्षीय देवल चौधरी र ५२ वर्षीय कैदा रानाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चौधरीको शव रुखमा झुन्डिएको अवस्थामा र रानाको शव त्यसको केही पर भुइँमा लडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिएका छन् ।
स्थानीयले जंगलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार शव भेटिएनजिकै दुईवटा साइकलसमेत भेटिएका छन् । मृतक रानाका छोरा कैलाशको गत भदौमा मोहना नदीमा डुबेर मृत्यु भएको थियो ।
मृत्युको कारण खुल्न नसकेको र पोस्टमार्टम रिपोर्ट आएपछि त्यसबारे थाहा हुने प्रहरी नायब उपरीक्षक बोहराले बताए । प्रहरीका अनुसार शनिबार रातिबाट दुवैजना सम्पर्कविहीन भएका थिए । मृतक दुवैजना नातेदार रहेका बुझिएको छ ।