साताको पहिलो कारोबार दिन आइतबार नेप्सेसँगै कारोबार रकममा समेत उच्च अंकको वृद्धि देखिएको छ।
नेप्से परिसूचक ७५.२४ अंक (२.६७ प्रतिशत)ले बढेर दुई हजार ८९०.२४ विन्दुमा पुगेको हो। ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्ससमेत ३.०८ प्रतिशतले बढेको छ।
यस दिन ३०२ कम्पनीको दुई करोड ९१ लाख ६६ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा १४ अर्ब २५ करोड चार लाख ७५ हजार रुपैयाँबराबरको कारोबार भएको छ।
आज म्युचल फन्ड १.२७ प्रतिशतले घट्दा बाँकी सबै १२ समूहको सूचक बढेको छ। वित्त, होटेल तथा पर्यटन, जीवन बिमा र उत्पादन तथा प्रशोधन समूह ४ प्रतिशतभन्दा धेरैले बढ्दा निर्जीवन बिमा, लगानी र विकास बैंक तीन प्रतिशतभन्दा धेरैले उकालो लागेका छन्। बढेका बाँकी समूहमा पनि एक प्रतिशतभन्दा धेरै वृद्धि भएको छ।
यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी
बढेको बजारमा आइतबार हिमालयन डिस्टिलरी, गुराँस माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक नाफा आर्जन गरेका छन्। यी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा सिन्धु विकास बैंक, दोर्दी खोला जलविद्युत् कम्पनी, न्यादी हाइड्रोपावर र पोखरा फाइनान्स नौ प्रतिशतभन्दा धेरैले बढेका छन्।
बजार बढे पनि यस दिन समाज लघुवित्तको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ। यसैगरी, अपर हेवाखोला हाइड्रोपावर कम्पनी पाँच र कुमारी सबल योजना चार प्रतिशतभन्दा धेरैले घटेका छन्। समग्रमा आज १९६ कम्पनीको सेयर मूल्य बढ्दा ४४ कम्पनीको मूल्य घटेको छ।