४० दिनदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएपछि भँगहाका नगरप्रमुखले प्रजिअमार्फत साँचो बुझाए

आइतबार, १८ फागुन, २०८१
डिजिटल संस्करण

महोत्तरीको भँगहा नगरपालिका ४० दिनदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएपछि नगरप्रमुखले प्रमुख जिल्ला अधिकारीलाई पालिकाको साँचो बुझाएका छन्।

सामान्य प्रशासन मन्त्रालयको पत्रले निमित्त हटेको एक महिनापछि प्रमुख प्रशासकीय अधिकृत उपसचिव होमप्रसाद घिमिरेलाई खटाइए पनि हालसम्म हाजिर नभएपछि नगरपालिकामा तालाबन्दी गर्दै नगरप्रमुख सञ्जीव साहले प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई साँचो बुझाएका हुन्।

आइतबार जिल्ला प्रशासन कार्यालयमा प्रजिअ कवारीलाई नगरप्रमुखले पालिकाको साँचो बुझाए। पालिकाले निमित्तबाट काम चलाउँदै आएकोमा मन्त्रालयले निमित्त हटाएको थियो। ४० दिन लगातार प्रमुख प्रशासकीय अधिकृतका लागि मन्त्रालय नै पुगेर मन्त्री र सचिवलाई हारगुहार गरेपछि एकजनालाई पठाए पनि हालसम्म उनको अनुहार देख्न नपाएको भन्दै नगरप्रमुख साहले प्रमुख प्रशासकीय अधिकृतविना कार्यालय सञ्चालन हुने अवस्था नरहेपछि तालाबन्दी गरेको बताए।

नगरप्रमुख साहले जनताको काम हुन नसकेर भँगहाको अवस्था जटिल बन्दै गएकोमा सरकार गम्भीर हुनुपर्ने बताए। कर्मचारीविना जनप्रतिनिधिले काम गर्न नसक्ने भन्दै सरकारले भँगहा नगरपालिकालाई बेवास्ता गरको गुनासो गरे।

सुझावित समाचार