खोटाङलाई ‘बाँसको राजधानी’ बनाउन पहल गरिने

आइतबार, १८ फागुन, २०८१
डिजिटल संस्करण

प्रथम राष्ट्रिय बाँस सम्मेलनले बाँसको संग्रहालय स्थापना गरेर खोटाङलाई ‘बाँसको राजधानी’को रूपमा पहिचान दिलाउन पहल गर्ने निर्णय गरेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा सम्पन्न तीनदिने सम्मेलनले ३५बुँदे ‘खोटाङ घोषणापत्र’ जारी गर्दै यस्तो निर्णय गरेको हो।

सम्मेलनले दिक्तेलमा बाँस अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न पहल गर्ने, पहिलोपटक राष्ट्रिय बाँस सम्मेलन सुरु भएको दिन फागुन १५ गतेलाई ‘राष्ट्रिय बाँस जागरण दिवस’का रूपमा मनाउन पहल गर्ने, प्रत्येक तीन वर्षमा राष्ट्रिय बाँस सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ। ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहा बाँस’ भन्ने नारासहित फागुन १५ गते सुरु सम्मेलन बाँसको अपार सम्भावनालाई स्वीकार गर्दै फागुन १७ गते सम्पन्न भएको हो।

खोटाङ घोषणापत्रमा बाँसलाई छिटो बढ्ने, बहुउपयोगी र नवीकरणीय स्राेतको रूपमा मान्दै यसले नेपालमा दिगो जीविकोपार्जन, चक्रीय अर्थतन्त्रको प्रवर्द्धन तथा वातावरण संरक्षणमा महत्त्वपूर्ण योगदान दिन सक्ने उल्लेख गरिएको छ। सम्मेलन अवधिभर बाँससँग सम्बन्धित नीति निर्माण, खेती विस्तार, उद्यम विकास, बजारीकरणलगायतका विषयमा ४४ जना विज्ञ तथा अध्येताबाट प्रस्तुत भएका २३ वटा कार्यपत्रको निचोडको आधारमा ‘घोषणापत्र’ जारी गरिएको हो।

घोषणापत्रमा बजारको मागअनुसार बाँसका विविध प्रजातिको व्यावसायिक खेती प्रवर्द्धन गर्ने, बाँसका बिरुवाको उत्पादन तथा खेती विस्तार गर्ने, नदी किनार, बाँझो जग्गा, सामुदायिक वन तथा गैरकृषिभूमिमा बाँस रोपणलाई प्रवर्द्धन गर्ने बुँदा समेटिएको मुख्य आयोजक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए। यस्तै, बाँसखेतीसम्बन्धी अध्ययन, अध्यापन, अनुसन्धान तथा ज्ञान आदान–प्रदानलाई प्रोत्साहित गर्ने, स्थानीय मौलिक कला, संस्कृति तथा परम्परागत ज्ञानको संरक्षण गर्दै पुस्तान्तरण गर्ने, बाँसमा आधारित उद्योगमा दक्षता र उत्पादन गुणस्तर सुधार गर्न रणनीतिक व्यावसायिक नमुना विकास गर्ने बुँदा उल्लेख छ।

दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्ड हलमा औपचारिक उद्घाटन गरिएको बाँस सम्मेलनमा नजिकै रहेको माटिकोरे खेलमैदानमा बाँसका सामग्रीसहित विभिन्न ५१ वटा स्टल राखिएको थियो। नगरपालिकाले वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बबरमहल, पर्यटन वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश सरकार र ग्रिन ब्याम्बो क्रियसन ललितपुरलगायतसँगको सहकार्यमा सम्मेलन गरेको हो।

नेपाल सरकार, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको प्रमुख आतिथ्यमा उद्घाटन भएको बाँस सम्मेलनमा संघीय सांसदहरू, प्रदेशका मन्त्री र सांसदहरू, गभर्नर, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाका प्रमुखहरू, जिल्लाका १० वटै स्थानीय तह तथा जिल्लाबाहिरका स्थानीय तहका प्रमुखहरूको उपस्थिति थियो। नेपालकै इतिहासमा पहिलोपटक आयोजना गरिएको प्रथम राष्ट्रिय बाँस सम्मेलनलाई सरकारी तथा गैरसरकारी निकायका एक सय, वन उपभोक्ता समूहका एक सय, विश्वविद्यालय तथा अनुसन्धान केन्द्रका ५० जना र हजारौँ विद्यार्थीले अवलोकन गरेका नगर उपप्रमुख विशन राईले जानकारी दिए।

सम्मेलनको अवसरमा बाँसको उपयोगितालाई व्यवहारमा कार्यान्वयन गर्न र सरकारलाई स्थानीय सामग्री प्रयोग गर्ने नीति व्यवहारमा कार्यान्वयन गर्न–गराउन खबरदारी गर्ने उद्देश्यले उच्चपदस्थ व्यक्तिलाई बाँसको कुर्सीसमेत उपहार दिने निर्णय गरिएको छ। बाँससम्बन्धी काम गरिरहेका विभिन्न निकायसँगको सहकार्यमा तीनवटै तहका सरकारको संयुक्त आयोजनामा प्रथम राष्ट्रिय बाँस सम्मेलन सञ्चालन भएपछि स्थानीय बाँस उद्यमी तथा व्यवसायीहरू उत्साहित भएका छन्। 

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आयोजित प्रथम राष्ट्रिय बाँस सम्मेलनका लागि नगरपालिकाले रु. पाँच लाख बजेटसमेत व्यवस्थापन गरेको जनाइएको छ। तीन दिनसम्म सञ्चालन भएको प्रथम राष्ट्रिय बाँस सम्मेलनमा रु. ४७ लाखबराबरको खर्च भएको नगरपालिकाले जनाएको छ।

सुझावित समाचार