‘महाभोज’को छायांकन सकियो

आइतबार, १८ फागुन, २०८१
डिजिटल संस्करण

दिनेश राउतको निर्देशन रहेको नेपाली चलचित्र ‘महाभोज’को छायांकन सम्पन्न भएको छ। अन्तिम चरणमा काठमाडौंमा छायांकन गर्दै शुक्रबार साँझ चलचित्रको इन्ड क्ल्याप गरिएको हो। इन्ड क्ल्यापमा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री अञ्जना बराइलीको दृश्य छायांकन गरिएको थियो।

यो चलचित्रको छायांकन गत माघ ८ गते पोखराको घाचोकबाट सुरु भएको थियो। चलचित्रको ३५ दिने छायांकन तालिकामा ३३ दिन घाचोक र दुई दिन काठमाडौंमा छायांकन गरिएको निर्देशक राउतले बताए। निर्देशकका अनुसार ‘महाभोज’ समाजमा हुने विश्वासघात र भ्रष्टाचारविरुद्धको कथामा आधारित छ। 

चलचित्रले सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्नेहरूविरुद्धको विद्रोही स्वर प्रस्तुत गर्ने विश्वास उनले लिएका छन्।

चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, बसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाहलगायतका कलाकारहरूको अभिनय छ।

क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा तयार भएको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन्। चलचित्रको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन्। छायाकार राजेश श्रेष्ठ हुन् भने सम्पादन निमेष श्रेष्ठको, ध्वनि डिजाइन उत्तम न्यौपानेको, मुख्य सहायक निर्देशन दिनेशबहादुर रावतको रहेको छ।

मनोज जोशी निर्माण नियन्त्रक र सहायक निर्माण नियन्त्रक विदुर मानन्धर हुन्। साजन बस्ताकोटीको कला निर्देशन, रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टको पब्लिसिटी डिजाइन, समरा जोशीको मेकअप तथा सरस्वती श्रेष्ठको केस स्टाइलिङ र आशिष पौडेलको कस्ट्युम डिजाइन रहेको छ।

काफिया फिल्म्स र कुबेर सिने डिस्ट्रिब्युसनले नेपालमा चलचित्रको वितरण गर्नेछन्। हालसम्म ‘महाभोज’को प्रदर्शन मिति भने घोषणा गरिएको छैन।

See More On

सुझावित समाचार