माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामूहिक बलात्कारपछि शंकास्पद अवस्थामा मृत भेटिएकी सिराहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरस्थित रिंकुकुमारी सदाको घरमा पुगेर न्यायका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, जनार्दन शर्मा, अग्नि सापकोटालगायतका नेताहरूसहित शनिबार बिहान पुगेका प्रचण्डले पीडित परिवारको न्याय र निष्पक्ष छानबिनका लागि धैर्यतापूर्ण ढंगले आवाज उठाइरहन आग्रह गर्दै त्यसमा सिंगो पार्टी, नेता, कार्यकर्ताहरूको सहयोग रहने उल्लेख गरे । ‘सरकारले जुन गम्भीरतासहित घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने हो त्यति देखिएको छैन,’ उनले भने, ‘स्थानीय प्रहरी प्रशासनले घटनालाई ढाकछोप गर्ने, स्थानीय पार्टीका नेताहरूसँग मिलेमतो गरी दबाउन खोजिएको हो भने छोडिनु हुँदैन ।’
रिंकुमाथिको बलात्कार र हत्याको घटना जघन्य अपराध रहेको औँल्याउँदै उनले तराई मधेशका जनतामाथि भइरहेको विभेद, थिचोमिचो, अन्यायविरुद्ध आवाज उठाउँदै आएको पार्टीको सिंगोपंक्ति पीडित परिवारसँग भेटेर पीडाले चह¥याइरहेको घाउमा मलमपट्टी लगाउन आएको बताए । रिंकुको न्यायका लागि गठन भएको संघर्ष समितिमार्फत स्थानीयस्तरमा निरन्तर दबाब सिर्जना गर्न आग्रह गर्दै उनले आफ्नो पार्टीले राष्ट्रिय रूपमा निष्पक्ष छानबिन, गरी सत्यतथ्य पत्ता लगाउन, पीडितलाई न्याय र राहतको व्यवस्था गर्न आवाज उठाउने बताए ।
रिंकुको न्यायका लागि मुसहर समुदायले गरिरहेको संघर्षप्रति पनि ऐक्यबद्धता जनाउँदै उनले विगतमा सामन्ती राज्यले दलित, गरिब, महिलाहरूमाथि विभेद र उत्पीडन गरेको बताए । ‘विभेद, अन्याय, अत्याचार भइरहेको छ, सामाजिक न्याय छैन,’ उनले भने, ‘त्यसका लागि जनतालाई जागरुक बनाउन हुलाकी राजमार्गकेन्द्रित जनतासँग माओवादी तराई मधेश जागरण अभियान थालिएको हो ।’ दलित गरिबहरूले अझै न्याय पाउन सहज नभइरहेको चर्चा गर्दै उनले दलित, महिला, आदिवासी जनजाति, मधेशीमाथि हुने सबै खालका विभेद अन्त्यका लागि सामाजिक राजनीतिक अभियान चलाइनुपर्ने उल्लेख गरे । गत २७ माघ राति शौच गर्न बाहिर गएका वेला सामूहिक बलात्कारमा परेको घटना दबाउन २९ र ३० माघमा गाउँमा पञ्चायत बसेर लेनदेन गर्ने निर्णय भएको घटना सार्वजनिक भएको थियो । घटनाको भोलिपल्ट आत्महत्या दुरुत्साहनको जाहेरी लिएको स्थानीय प्रहरीले ८ फागुनमा कर्तव्य ज्यान, जबर्जस्तीकरणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चारवटा शीर्षकमा पूरक जाहेरी लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
रिंकुको न्यायका लागि गठन गरिएको मुसहर संघर्ष समितिले प्रचण्डलाई निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन, पीडित परिवारलाई न्याय र राहतका लागि पहल गरिदिन माग गर्दै १३ बुँदे ज्ञापनपत्र बुझाएको छ । संघर्ष समितिका संयोजक अरुण सदा र सदस्य सोनियादेवी सदायले ज्ञापनपत्र बुझाउँदै मजदुरी गरेर बिहान–बेलुका छाक टार्नुपर्ने भूमिहीन मुसहर समुदायसहित तमाम शोषित उत्पीडित समुदायका लागि माओवादीले विगतमा खेलेको भूमिकालाई आफूहरूले नबिर्सिएको उल्लेख गरे । दलित परिवारका छोरीचेलीको इज्जत लुटेर पञ्चायतमार्फत लेनदेन गरी दबाउन खोजिँदा शंकास्पद अवस्थामा शव भेटिएको घटनाको परिणाममुखी अनुसन्धान, घटनामा संलग्न दोषीहरूलाई पक्राउ गरी कानुनी कारबाही र पीडित परिवारको न्याय, क्षतिपूर्तिका लागि आवश्यक पहल गरिदिन उनीहरूले माग गरे । ज्ञापनपत्रमा रिंकुसहित देशभर मुसहर समुदायमाथि भएका हत्या, हिंसा, बलात्कारका घटनाहरूको निष्पक्ष छानबिन गरी पीडित परिवारलाई क्षतिपूर्ति, मुसहर आयोग गठन, मुसहर समुदायका लागि आवाससहितको विद्यालय शिक्षादेखि उच्च शिक्षा–प्राविधिक शिक्षा निःशुल्कसहित छात्रवृत्तिको व्यवस्था, मुसहर समुदायलाई राज्यको तर्फबाट अनिवार्य आवासको व्यवस्था गरिनुपर्नेलगायतका माग गरिएको छ ।
प्रचण्डलगायत माओवादी पदाधिकारीले सिरहाका प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा प्रमुखसँग रिंकुकुमारीको शंकास्पद मृत्यु तथा घटनाको अनुसधान प्रक्रियाबारे जानकारी लिएका छन् । उनले शनिबार प्रजिअसहित सुरक्षा प्रमुखलाई बोलाएर घटनाबारे जानकारी लिएका हुन् ।