सार्वजनिक स्थानमा फोहोर फाल्नेप्रति कठोर बन्दै कामपा

शनिबार, १७ फागुन, २०८१
डिजिटल संस्करण

काठमाडाैं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्ने जोकोहीलाई पाँच हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म जरिवाना गराउने भएको छ। कामपा वातावरण विभागका अनुसार कामपा क्षेत्रका घर कम्पाउन्ड तथा परिसरको फोहोरमैला सडक, फुटपाथ तथा अन्य सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्नेजस्ता कार्य गरे रु. पाँच हजारदेखि १५ हजारसम्म जरिवाना गर्ने भएको हो। 

कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार जथाभावी फोहोर फाल्दा दुर्गन्धित हुनुका साथै नागरिकको जनस्वास्थ्यमा समेत गम्भीर असर गर्ने भएकाले पूर्ण रूपमा यस कार्यलाई प्रतिबन्ध गरिएको हो। यदि कामपाको आग्रहलाई बेवास्ता गरी सार्वजनिक स्थानमा फोहोर फालेको कामपाको अनुगमन टोलीले भेटे कामपाको वातावरण  तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा (च) बमोजिम कारबाही हुने पनि कामपाले स्पष्ट पारेको छ।
      
यसैबिच कामपाले फोहोर व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउनका लागि ३२ वटै वडामा ६ वटा क्षेत्र निर्धारण गरी काम गर्ने भएको छ। फोहोर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउन नयाँ व्यवस्था गर्न लागिएको वातावरण व्यवस्थापन विभागको भनाइ छ। वातावरण विभाग प्रमुख सरिता राईका अनुसार ६ वटै क्षेत्रमा एक–एकवटा ट्रान्फरस्टेसन तयार गरी उक्त स्थानबाट फोहोरको अन्तिम व्यवस्थापनका लागि ‘ल्यान्डफिल साइट’ बन्चरेडाँडा लगिनेछ। त्यसका लागि कामपाले ३२ वटा वडालाई भौगोलिक र जनसंख्याका आधारमा क्षेत्र निर्धारण गरेको हो।
 
यसका लागि कामपाले उत्पादकलाई फोहोर व्यवस्थापनको जिम्मा लागाउने गरेको छ। प्रमुख राईका अनुसार फोहोरमैला व्यवस्थापन ऐन, २०६८ तथा काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार फोहोर स्रोतमै वर्गीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ। हाल वडा नं ५, १०, २४, २५, २६ र २७ मा स्रोतमै फोहोर वर्गीकरण भइरहेको छ। अब छिट्टै अन्य वडामा पनि फोहोर वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्ने तयारी कामपाको छ। स्रोतमा उत्पादित फोहोरमध्ये २० प्रतिशत बन्चरेरेडाँडामा लैजाने र बाँकी सेवा प्रदायकमार्फत व्यवस्थापन गरिनेछ।

हाल काठमाडौं उपत्यकाको १८ स्थानीय तहबाट दैनिक एक हजार ६ सय मेट्रिक टन फोहोर निस्कने गर्छ। साबिकको सिसडोलमा व्यवस्थापन हुँदै आएको फोहोर उक्त स्थान भरिएपछि विगत साढे दुई वर्षदेखि बन्चरेडाँडामा व्यवस्थापन गरिँदै आएको छ।

See More On

सुझावित समाचार