विद्यार्थी बिरामी भएपछि ताप्लेजुङका दुई विद्यालय एक हप्ताका लागि बन्द

शुक्रबार, १६ फागुन, २०८१
डिजिटल संस्करण

ताप्लेजुङको मेरिङदेन गाउँपालिका– ५ का दुई विद्यालयका करिब दुई सय विद्यार्थी बिरामी भएपछि विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ । विहिबार देखि बन्द गरिएको विद्यालय बुधबार सम्मका लागि बन्द गरिएको छ ।  

त्रिभुवन माध्यमिक विद्यालयका करिब १५० विद्यार्थीमा ज्वारो आउने, खोकी लाग्ने, जिउ दुख्ने, नाकबाट पानी बग्ने, टाउको दुख्ने र पेट दुख्नेलगायतका लक्षण देखिएपछि विद्यालय नै बन्द गर्नुपरेको विद्यालयका प्रधानाध्यापक कमल चेम्जोङले बताए । प्रअ चेम्जोङले मंगलबार केही विद्यार्थीमा ज्वारो आउने तथा खोकी लाग्ने लक्षण देखिएको थियो । सो बिराम बुधबार केही बढी देखियो ।  त्यसपछि बिहीबार विद्यालयका करिब तीन विद्यार्थीमध्ये  दुई सय विद्यार्थीमा लागेको पाइयो ।

उक्त बिरामबाट १५० सय विद्यार्थी निकै बिरामी भएको प्रअ चेम्जोङले जानकारी दिए । त्यसपछि पालिकाकाे स्वास्थ्य शाखामा खबर गरेको प्रअ चेम्जोङले बताए । उता, जनज्योति आधारभूत विद्यालयका विद्यार्थीमा पनि सोही किसिमको बिराम देखिएको र उक्त विद्यालय पनि बन्द गरिएको छ । 

मेरिङदेन गाउँपालिकामा बिहीबार विद्यालयले खबर गरेपछि शुक्रबार नै पालिकाको स्वास्थ्य टोली गई विद्यालयका विद्यार्थीमा परीक्षण गरिएको पालिकाका निमित्त कार्यालय प्रमुख तथा स्वास्थ्य शाखा प्रमुख उदयकुमार यादवले जानकारी दिए । निमित्त प्रमुख यादवले त्रिभुवन माविमा परीक्षण गरिएकामध्ये ७७ जनामा सो बिराम देखिएको जानकारी दिए । उता, जनज्योति आविमा पनि ३० जना विद्यार्थीहरूमा रुघा, खोकी, ज्वारो, पेट दुख्ने तथा लल्याकलुलुक भएर जिउ नै नथामिने देखिएका थिए । 

यता, जनस्वास्थ्य प्रमुख कुलबहादुर पौडेलले जिल्ला स्वास्थ्य कार्यालयबाट आफूसहितको डाक्टरहरूको टोली लिएर सो पालिकातिर हिँडेको बताए । उनले भाइरल इन्फ्लुएन्जा भाइरसले फ्लुजस्ता संक्रमणको कारण भएको हुन सक्ने प्रमुख पौडेलले जानकारी दिए । इन्फ्लुएन्जा भाइरस परीक्षणका लागि प्रदेशबाट किट झिकाएको र सो नमुना विराटनगरमा ल्याब टेस्टका लागि पठाउने र रिपोर्ट आएपछि के भन्ने थाहा हुने पौडेलले जानकारी दिए । 
 

सुझावित समाचार