ताप्लेजुङको मैवाखोलाका पहिरोपीडित ६५ परिवार २० महिनादेखि अस्थायी टहरामा

शुक्रबार, १६ फागुन, २०८१
डिजिटल संस्करण
  • पुरानो बस्ती फर्कन सक्ने अवस्था नरहेकाले साँघुमा जग्गा खोजेर बस्ती बसाउने गाउँपालिकाको योजना, तर ६० लाख रकम मात्रै विनियोजन 

ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरोपीडित ६५ परिवार झन्डै २० महिनादेखि अस्थायी टहरामा बसिरहेका छन् । ३ असार ०८० को पहिरोले विस्थापित उनीहरू साँघुमा निर्माणाधीन मदन भण्डारी रंगशाला हाताभित्र अस्थायी टहरामा छन् । 

पहिरोबाट मैवाखोला– ४ ओदकका ६२, ताम्राङका दुई र वडा ३ साँघुका एक गरी ६५ परिवार विस्थापित भएका थिए । उनीहरूका लागि गाउँपालिकाले एक करोड ५९ लाख खर्चेर पाँचजनासम्मको परिवारका लागि ३६, आठजनासम्मका लागि २३ र १२ जनासम्म बस्न मिल्ने ६ वटा अस्थायी घरटहरा बनाएको थियो । ३६ शौचालय र १८ धारा पनि छन् । 

  • विजयप्रकाश बनेम अध्यक्ष, मैवाखोला गाउँपालिका
  • अस्थायी घरमा बस्दै आएका ६५ परिवार अब पुरानो बस्ती फर्कन सक्ने अवस्था नरहेकाले साँघुमा जग्गा खोजेर बस्ती बसाउन खोजिएको छ ।

पहिरो गएको साढे दुई वर्षसम्म पहिरोपीडित पुनस्र्थापना हुन सकेका छैनन् । घर बगेको पहिलेको ठाउँको जमिनमा फेरि बस्न सक्ने अवस्था छैन । पहिरोले घर बगाएपछि अस्थायी टहरामा बस्दै आएकी पूजना शेर्पा सरकारले घर बनाइदिए सहज हुने बताउँछिन् । ६ जनाको परिवार मेलापात तथा अर्काको जग्गा कुतमा काम गरेर गुजारा गरिरहेको उनी बताउँछिन् ।    

८३ वर्षीय दाबा शेर्पाले पनि अस्थायी टहराबाट स्थायी घरमा जाने चाहना रहेको बताए । ८४ वर्षीया प्रेमछोकी शेर्पा टहरामा एक्लै बस्दै आएकी छिन् । सामाजिक सुरक्षा भत्ता थापेपछि झन्डै एक घण्टा लाग्ने साँघुबजार गएर चामललगायतका दैनिक खानेकुरा ल्याएर गुजारा चलाइरहेकी छिन् । 

पहिरो विस्थापितलाई पुनस्र्थापना गर्न गाउँपालिकाले वडा नम्बर ३ लुकुवामा एकीकृत बस्तीको योजना अघि सारेको छ । र, ६० लाख मात्र बजेट विनियोजन भएको छ । यो रकम धेरै न्यून रहेको सम्बन्धित अधिकारीहरू बताउँछन् । 

जग्गा खरिदकै लागि एक करोड ९० लाख आवश्यक पर्ने गाउँपालिकाका प्रवक्ता चन्द्रबहादुर तामाङले बताए । संघ र प्रदेश सरकारबाट बजेटको सुनिश्चितता नभएकाले काम अगाडि बढ्न नसकेको उनले बताए । बाढीपहिरोपीडितलाई स्थायी आवासका लागि संघ र प्रदेशले ४०–४० तथा स्थानीय तहले २० प्रतिशत रकम लगानी गर्नुपर्ने हुन्छ ।

मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश बनेमले अस्थायी घरमा बस्दै आएका ६५ परिवार अब पुरानो बस्ती फर्कन सक्ने अवस्था नरहेकाले साँघुमा जग्गा खोजेर बस्ती बसाउन खोजिएको बताए । 

सुझावित समाचार