कमिसनका लागि लहानस्थित रामकुमार शारडा उमाप्रसाद प्रादेशिक अस्पतालबाट बिरामी रेफर गर्ने गरिएको पाइएको छ । प्रसूतिका लागि १० फागुनमा प्रादेशिक अस्पताल भर्ना भएकी धनगढीमाई– ८ कसहा माइत रहेकी शर्मिता रामलाई डा. मनोज चौधरीले रेफर गरेका थिए । र, एम्बुलेन्स चालकले नजिकै रहेको माँ धमिनी हस्पिटलमा पुर्याएका थिए । यो अस्पताल गोलबजारबाट स्थानान्तरण गरी रघुनाथपुरमा चलिरहेको छ । यसरी सरकारीबाट निजीमा रेफर गर्ने चिकित्सकले १० देखि २० हजारसम्म कमिसन पाउने गरेका छन् । जबकि, प्रादेशिक अस्पतालमा आमा सुरक्षा कार्यक्रम लागू छ, जहाँ सबैखाले प्रसूति निःशुल्क गराइन्छ ।
‘सरकारीबाट रेफर गराई बिचौलियामार्फत् रेफर गरिन्छ । उपचार रकमको केही हिस्सा रेफर गरिदिने व्यक्ति र बिचौलियासम्म पुग्छ,’ प्रादेशिक अस्पतालका एक स्वास्थ्यकर्मीले बताए । अस्पतालको मुख्य गेटमा बिहानदेखि पार्किङ गरेर राखिएका एम्बुलेन्स चालक, निजी हस्पिटल, पोलिक्लिनिक, हेल्थ केयर सेन्टरमार्फत् खटाइएका बिचौलियाको ड्युटी नै सरकारी अस्पतालबाट रेफर गरिएका बिरामीका आफन्तलाई ‘राम्रो उपचार हुन्छ,’ भन्दै झुक्याएर निजीमा पुर्याउने र कमिसन असुल्ने बाहेक केही नरहेको अर्का स्वास्थ्यकर्मीले बताए ।
डा. चौधरीले बिरामीले असहयोग गरेको (अरुलाई डिस्टर्ब र चिकित्सकलाई असहयोग गरेको) भन्दै बलजफ्ती रेफरको पूर्जा थमाएका थिए । त्यसपछि बिचौलियाको काम गर्ने एम्बुलेन्स चालकले माँ धमिनीमा लगेका थिए ।
बिचौलियाले निजीमा ल्याए लगत्तै शल्याक्रिया गरेर छोरा जन्माएकी शर्मिताकी आमाले गाउँबाट ऋण गरेर ल्याएको २० हजार बुझाए पनि हस्पिटलले अझ ३३ हजार तिर्न बाँकी छ भन्दै घर जान दिएका थिएनन् । घटना बाहिरिएपछि बुधबार मात्र सुत्केरीलाई हस्पिटल संचालक रामपुकार महतोले डिस्चार्ज गरेका थिए ।
मधेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहले सरकारको बिरामीलाई सेटिङमा निजीमा रेफर गराई बिचौलियामार्फत् कमिसान खानेको धन्दा बन्द गरिने बताए । ‘सरकारी स्वास्थ्य संस्था, अस्पतालमा प्रभावकारी सेवा प्रवाहका मुख्यमन्त्री स्वयं लाग्नु भएको छ, प्रादेशिक अस्पतालबाट रेफर गराएर मापदण्ड नै नपुगेको निजी हस्पिटलमा शल्यक्रिया गरिएको विषयमा छानबिन गर्न अस्पाललाई भनेका छौँ । अस्पतालले छानबिन थालेको छ ।’
मापदण्ड नपुगेका र अवैध हस्पिटलमा उपचारको नाममा खेलवाड
सरकारी अस्पतालबाट रेफर भएर मापदण्ड नपुगेका र अवैध हस्पिटलमा जाँदा उपचारको नाममा ज्यान नै गुमाउनु परेको उदाहरण छ ।
गत १६ जेठमा लहान–३ ठाढी चोकस्थित लहान एडभान्स हस्पिटलमा शल्यक्रिया गरी छोरी जन्माएकी सिरहाको भगवानपुर गाउँपालिका ५ इनर्वाकी २५ वर्षीया सञ्जुकुमारी यादवको १९ जेठमा मृत्यु भएको थियो । लहान–१ स्थित लीलामदन पिसी एन्ड प्रसूतिगृहमा ४ असार ०७७ मा भगवानपुर गाउँपालिका–२ गम्हरियाकी २२ वर्षीया १० दिने सुत्केरी मौसम खातुनको पनि ज्यान गएको थियो । प्रसूति गृहले दोस्रो शल्यक्रिया गरेपछि रकमका लागि रोकेर राख्दा सुत्केरीको मृत्यु भएको थियो । प्रसूति गृहले सोही वर्षको २७ जेठमा एक लाख ४५ हजार लिएर शल्यक्रिया गरेको ठाउँबाट टाँका फाटेपछि पुनः दोस्रो शल्यक्रिया गर्दा खातुनको मृत्यु भएको थियो । उक्त घटनापछि प्रसूती गृह बन्द छ ।
त्यस्तै, ४ पुस २०७५ मा प्रसूतीका लागि प्रादेशिक अस्पतालबाट रेफर गरिएकी मिर्चैया नगरपालिका–११ सीतापुरकी २१ वर्षीया सञ्जु पासवानलाई बिचौलियाले लहानको हुलाक नजिक अवैध रुपले संचालित ओम गुरुकुल हेल्थ केयरमा पुर्याएर ‘बिरामीको अवस्था जटिल छ’ भन्दै अत्याएर अप्रेशन गर्दा उनको ज्यान नै गएको थियो । सुत्केरीको रक्तश्राव नरोकिँदा मृत्यु भएपछि आफन्तले दुई दिनसम्म हेल्थकेयर अगाडि शव राखेर प्रदर्शन गरेका थिए ।
तीनवटै घटनामा मृतक परिवारलाई लेनदेनमार्फत् मिलाएर अस्पताल संचालकहरूमाथि कारबाही नै नगरी छोडिएको थियो ।
पूर्व पश्चिम लोकमार्गसँगै जोडिएका लहान– ३ अस्पताल चोक क्षेत्रमा रहेका करिब आधा दर्जन निजी हस्पिटल र पोलिक्लिनिकले उपचारका नाममा बिरामीको जीवनमाथि नै खेलवाड गरिरहेको नेपाल मानवअधिकार संगठनका सिराहाका अध्यक्ष राजकुमार राउत कुर्मी बताउँछन् । ‘उपचारको नाममा लापर्वाही गरी मान्छे मर्दा समेत त्यस्ता स्वास्थ्य संस्था विरुद्ध कानुनी कारबाही नहुँदा संचालक हौसिएका छन्,’ उनले भने ‘विभिन्न ठाउँमा अवैध ढङ्गले संचालित निजी स्वास्थ्य संस्थाहरूले स्वास्थ्य सहायक स्तरका स्वास्थ्यकर्मी राखी ठूल्ठूला बोर्ड झुण्ड्याएर एमर्जेन्सी सेवा, डिजिटल एक्सरे, प्रयोगशाला, विशेषज्ञ सेवाको नाममा अप्ठ्यारोमा रहेका बिरामी र आफन्तलाई ठगिरहेका छन् ।’
छानबिनका लागि पाँच सदस्यीय समिति
प्रसूतिका भर्ना भएकी महिलालाई सरकारीबाट निजी अस्पतालमा रेफर गरिएको विषयमा छानबिन गर्न रामकुमार शारडा उमाप्रसाद प्रादेशिक अस्पतालले छानबिन समिति गठन गरेको छ । डा. शैलेन्द्रकुमार चौधरीको संयोजकत्वमा गठन भएको छानबिन समितिमा ल्याव इञ्चार्ज कृष्णदेव प्रसाद, नर्सिङ् इञ्चार्ज किरण यादव, राजकुमारी चौधरी र एनेस्थेसिया सहायक जगतलाल महतो सदस्य रहेको समिति गठन भएको मेडिकल सुप्रिन्टेन्डेन्ट डा. बृजेन्द्रकुमार साहले बताए । समितिलाई पाँच दिनभित्र छानबिन गरी प्रतिवेदन बुझाउने गरी पत्र पठाइएको र समितिको सिफारिसका आधारमा कारबाही प्रक्रिया बढ्ने उनले बताए ।