दुई महिनामा बस्नुपर्ने कांग्रेस केन्द्रीय समिति ६ महिनामा पनि बसेन

नियमित बैठक नबसेपछि बढ्यो असन्तुष्टि

बिहिबार, १५ फागुन, २०८१
डिजिटल संस्करण

सत्तासीन भएसँगै कांग्रेसले केन्द्रीय समिति बैठक राख्ने आवश्यकता देख्न छाडेको छ । सरकारमा गएपछि गत २३ साउनदेखि १६ भदौसम्म कांग्रेस केन्द्रीय समिति बैठक बस्यो । बैठकले एमालेसँग सत्ता सहयात्राका लागि गरेको सातबुँदे सहमति अनुमोदनलगायत निर्णय गर्यो । तर, सत्तामा गएको ६ महिने अवधिमा भएका महत्वपूर्ण राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाउन आवश्यक ठानेको छैन । 

महत्वपूर्ण राजनीतिक विषयमा पार्टीमा छलफल नहुने अवस्था लामो समयसम्म हुन थालेसँगै बैठकका लागि पार्टीमै दबाब बढ्दो छ । तर, केन्द्रीय समिति बैठक कहिले बस्छ भन्ने टुंगो छैन । सहमहामन्त्री भीष्मराज आङदेम्बे केन्द्रीय समिति बैठक बोलाउन ढिलाइ भएको स्विकार्छन् । बैठक बोलाउनेबारे छलफल भइरहेको उनले दाबी गरे । शुक्रबार सभापति शेरबहादुर देउवाले बोलाएको पदाधिकारी बैठकमा यस विषयमा छलफल हुने उनको भनाइ छ । ‘केन्द्रीय समिति साउनपछि बसेको छैन । शुक्रबार पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै छ । सोही बैठकले केन्द्रीय समिति बैठक बोलाउने विषयमा छलफल गर्नेछौँ,’ उनले भने । 

कांग्रेस विधानको दफा २१ को धारा १२ मा केन्द्रीय कार्यसमिति बैठक प्रत्येक दुई महिनामा कम्तीमा एकपटक बस्ने व्यवस्था गरेको छ । यसबिचमा कार्यसम्पादन समिति बैठक बस्न सक्ने व्यवस्था गरेको छ । प्रत्येक महिनामा कम्तीमा एकपटक र आवश्यकताअनुसार कार्यसम्पादन बैठक बस्न सक्ने व्यवस्था छ । कार्यसम्पादनका निर्णय केन्द्रीय समिति बैठकले अनुमोदन गर्नुपर्ने हुन्छ । जबकि कांग्रेसमा केन्द्रीय समिति बैठक नियमित गर्न कार्यतालिकासमेत ल्याइएको थियो । 

अर्का सहमहामन्त्री जीवन परियार बैठक अनिश्चित रहेको बताउँछन् । लामो समय बैठक बस्न नसक्दा महत्वपूर्ण विषयमा छलफल हुन नपाउनु पार्टीको हितमा नभएको बताए । ‘पार्टीमा केन्द्रीय समिति बोलाउनेबारे कुनै तयारी छैन । नेतृत्वबाट केन्द्रीय समिति बैठक बोलाउने विषयमा कुनै जानकारी आएको छैन । लामो समयसम्म बैठक नबस्नु कांग्रेसका लागि राम्रो होइन,’ उनले भने । 

केही समययता कांग्रेसमा महत्वपूूर्ण विषयमा छलफलका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाउनुपर्ने माग बढ्न थालेको छ । संस्थापन तथा संस्थापनइतर सहूका नेताहरूले यी विषयलाई केन्द्रीय समितिमा उठाउने तयारी गरिरहेका छन् । कांग्र्रेसमा बिआरआई सम्झौता, सरकारले संसद् छलेर ल्याएको अध्यादेशलगायत विषयमा जवाफ खोज्ने नेताहरूको तयारी छ । शेखर कोइराला समूहका नेताहरूले १५औँ महाधिवेशनका लागि केन्द्रीय समितिमार्फत दबाब दिने तयारी गरेका छन् । नेतृत्वले आगामी महाधिवेशनका लागि दबाब र सरकारको आलोचना झेल्नुपर्ने टभएसँगै बैठक बोलाउन ढिलाइ गरिरहेको नेताहरू बताँउछन् ।

केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले तत्काल केन्द्रीय समिति बोलाउनुपर्ने बताए । नेतृत्वले बेवास्ता गर्दा महत्वपूर्ण विषयमा छलफल हुन नसकेको उनको भनाइ छ । ‘केन्द्रीय समिति बैठक प्रत्येक दुई महिनामा बोलाउने विधानमा उल्लेख छ । विधानको व्यवस्था पालना नभएपछि कार्यतालिका पनि ल्याइएको हो । पार्टी सरकारमा गएपछि केन्द्रीय समिति बैठक एकपटक मात्र बस्यो । पार्टीमा बहस हुनुपर्ने महाधिवेशनलगायत धेरै विषयमा छलफल आवश्यक छ । नेतृत्वले पार्टीमा छलफल चाहेको छैन,’ उनले भने ।

गत २३ साउनदेखि १६ भदौसम्म बसेको केन्द्रीय समिति बैठकले एमालेसँग सत्ता सहयात्राका लागि गरेको सातबुँदे सहमति अनुमोदन, गोदावरीमा बसेको महासमिति बैठकको निर्णयलाई परिमार्जनसहित अन्तिम रूप दिनेलगायत निर्णय गरेको थियो । गत ३ मंसिरमा पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा शोक प्रस्ताव पारित गर्न आकस्मिक केन्द्रीय समिति बसेको थियो । १ पुसमा पूर्वकेन्द्रीय सदस्य पिएल सिंहको निधनमा आकस्मिक केन्द्रीय समिति बैठक बसेर शोक प्रस्ताव पारित गरेको थियो । तर, महत्वपूर्ण विषयमा छलफलका लागि केन्द्रीय समिति बैठक बस्न सकेको छैन । 

यसबिचमा १३ असोज र २४ मंसिरमा केन्द्रीय कार्यसम्पादन समिति बैठक मात्र बसेको छ । ०७८ मंसिरमा १४औँ महाधिवेशन गरेको कांग्रेसको केन्द्रीय समिति अझै अपूर्ण छ । कांग्रेस विधानमा महाधिवेशनबाट सभापति र अन्य पदाधिकारीसहित केन्द्रीय कार्यसमितिमा १३४ जना निर्वाचित हुने व्यवस्था छ । कुल १६८ सदस्यीय केन्द्रीय समितिमा सभापतिलाई थप ३३ जना मनोनीत गर्ने अधिकार विधानले दिएको छ । सबैको प्रतिनिधित्व हुने गरी ३३ जना थप मनोनीत गर्ने अधिकार सभापतिलाई दिए पनि अझै दुई केन्द्रीय सदस्य मनोनीत भएका छैनन् । 
 

सुझावित समाचार