सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको दोस्रो दिन बुधबार तोरणविक्रम शाहीले दोस्रो स्थानमा रहेका नीरज तामाङमाथि ३ स्ट्रोकको अग्रता लिएका छन् । तोरणले समग्रमा ११ अन्डर १३३ स्कोर गरेका छन् । धरानका प्रो नीरजले समग्रमा ८ अन्डर १३६ स्कोर गरे । समग्रमा २ अन्डर १४२ स्कोर बनाएका टंकबहादुर कार्की र दिनेश प्रजापति तेस्रो स्थानमा उक्लिए । दुवैले समान इभन पार ७२ स्कोर गरे ।
नेपाल नम्बर एक भुवन नगरकोटी, रमेश अधिकारी र जयराम श्रेष्ठ समग्रमा १ अन्डर १४३ स्कोरसहित संयुक्त रूपमा पाँचौँ स्थानमा रहे । भुवनले २ अन्डर ७०, रमेशले १ अन्डर ७१ र जयरामले १ ओभर ७३ स्कोर गरेका थिए । तोरणले फ्रन्ट नाइनमा उत्कृष्ट प्रदर्शन गर्दै अग्रता बनाएका हुन् । उनले ३ अन्डर ३३ को स्कोरमा फ्रन्ट नाइनको खेल सकाए । पहिलो होलमा बोगी सामना गरेका उनले दोस्रो, तेस्रो, सातौँ र नवौँ होलमा बर्डी निकाले ।
उनले ब्याक नाइनमा १ अन्डर ३५ स्कोर गर्न १३औँ, १७औँ र १८औँ होलमा समान एक सट बचाए । नीरजले फ्रन्ट नाइनमा ४ अन्डर ३२ को लोभलाग्दो प्रदर्शन गरेका थिए । उनले ब्याक नाइनमा १ अन्डर ३५ स्कोर गरेका थिए । यस क्रममा उनले ५ होलमा बर्डी प्रहार गरे । उनले पाँचौँदेखि सातौँ होलमा लगातार तीन बर्डी प्रहार गरे । यसपछि १२औँ होलको बर्डीका साथ उनले तोरणमाथि दबाब दिए ।
विश्वकर्मा र आचार्य अगाडि
एमेच्योरतर्फ राष्ट्रिय टिमका खेलाडी राहुल विश्वकर्मा र साबिक विजेता सदभाव आचार्य इभन पार १४४ स्कोरका साथ संयुक्त रूपमा शीर्ष स्थानमा छन् । राहुलले ३ अन्डर ६९ को स्कोर निकाले । उनले दोस्रो, तेस्रो र सातौँ होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन २ अन्डर ३४ मा सकाए । सदभावले भने इभन पार ७२ को स्कोर गरे । ३६ होलको समाप्तिमा १३ ओभर १५७ स्कोर गरेका २२ प्रोफेसनल र चार एमेच्योरसँगै २६ गल्फरले कट बनाएका छन् ।