नेपाल बिमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले बिमा क्षेत्रमा परिवर्तन आएको महसुस हुने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले मंगलबार कार्यभार सम्हाल्दै सरकारले विश्वास गरेर दिएको जिम्मेवारी पूरा गर्न आफ्नो सम्पूर्ण ध्यान केन्द्रित हुने बताए । ओझालाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पद तथा गोपनीयताको शपथ गराएका हुन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनलाई नेपाल बिमा प्राधिकरणको अध्यक्ष नियुक्त गरेको हो ।
अध्यक्ष ओझाले सबैको सहकार्यमा कार्यान्वयनयोग्य कार्ययोजना बनाएर काम गर्ने बताए । बिमा ऐन, नियम, निर्देशिका एवं मापदण्डबमोजिम अगाडि बढ्ने उल्लेख गरे । अध्यक्ष ओझाले बिमा क्षेत्रको नियमनकारी निकायका रूपमा प्राधिकरणले अवलम्बन गर्दै आएको असल अभ्यासलाई निरन्तरता दिने र आवश्यक अन्तर्राष्ट्रिय असल अभ्यासलाई कार्यान्वयन गर्दै जाने बताएका छन् ।
अध्यक्ष ओझाले बिमा क्षेत्रलाई नियमित, प्रतिस्पर्धी र पारदर्शी बनाउँदै बिमितको हित संरक्षण, प्राधिकरणका विचाराधीन मुद्दाहरूको शीघ्र फस्र्योट र बिमकको वित्तीय स्वास्थ्यलाई बलियो बनाउन प्राथमिकताका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । शपथग्रहण कार्यक्रममा नेपाल बिमा प्राधिकरणका निवर्तमान अध्यक्ष एवं प्राधिकरण सञ्चालक समितिका सदस्य मदन दाहाललगायतको उपस्थित थियो ।