तीन वर्ष लामो युद्ध र प्रतिबन्धपछि पनि अझै मजबुत रुसी अर्थतन्त्र

बुधबार, १४ फागुन, २०८१
डिजिटल संस्करण

आक्रमण चौथो वर्षमा प्रवेश गर्दै गर्दा विश्लेषकले युक्रेन र रुसको अर्थतन्त्रमा पारेको असर मूल्यांकन गरिरहेका छन्

रूसले युक्रेनमाथि आक्रमण सुरु गरेको तीन वर्ष पूरा भएको छ । युक्रेनी नागरिक युद्धका कठोर वास्तविकता दैनिक सामना गर्न बाध्य छन् । युद्धरत पक्षको तुलनात्मक आर्थिक स्वास्थ्यको अध्ययन गर्दा युद्धका आर्थिक असर भने युक्रेनमा मात्र सीमित नभई दुवै देशमा परेको पाइन्छ । उच्च मुद्रास्फीतिले दुवै देशका नागरिकको आर्थिक कठिनाइ बढाएको छ । तथ्यांकअनुसार, पछिल्लो समय रुसको मूल्यवृद्धि ९.५ प्रतिशत र युक्रेनको १२ प्रतिशतमा चलिरहेको छ ।

युक्रेनमाथि रुसी आक्रमणको तीन वर्ष पूरा भएको स्थितिमा अर्थशास्त्रीले युद्धका कारण यी दुवै देशको अर्थतन्त्रमा परेको असर जाँच गरिरहेका छन् । आर्थिक वृद्धिको मानकको मापनका आधारमा मस्कोको स्थिति मजबुत देखिन्छ । युद्धको सुरुवातमा रुसको कुल गार्हस्थ उत्पादन –१.३ प्रतिशतमा झरेको थियो । त्यसपछिका दुई वर्ष यो ३.६ प्रतिशतले बढेको आइएमएफको तथ्यांकले बताउँछ । युक्रेनको कुल गार्हस्थ उत्पादन सन् २०२२ को गर्मीसम्ममा ३६ प्रतिशतले खुम्चिएको थियो, जुन संकुचन वर्षको अन्त्यसम्ममा सामान्य सुधारसहित २८.३ प्रतिशतमा रोकियो । तर, सन् २०२३ मा अर्थतन्त्र ५.३ प्रतिशतले र सन् २०२४ मा तीन प्रतिशतले बढ्यो । 

पश्चिमले लगाएको कठोर आर्थिक प्रतिबन्धका बाबजुद रुसी उद्योगले युद्धलाई निरन्तरता दिन आवश्यक पर्ने सामग्री र कच्चापदार्थ हासिल गर्न सक्षम भएका छन् । तेलको अवैध बिक्री र केही हदसम्म प्राकृतिक ग्यास, निकेल र प्लेटिनमको बिक्रीबाट प्राप्त राजस्वले १८ महिनाअघि झन्डै घुँडा टेकेको राज्य संयन्त्रलाई उद्धार गर्‍यो । 

पुनर्निर्माणको आशा
रुसको लामो आक्रमणका बाबजुद स्वतन्त्र राष्ट्रका रूपमा युक्रेनको हैसियत पहिलेभन्दा थप बलियो बनेको छ । एज–हिल विश्वविद्यालयका अर्थशास्त्र र अन्तर्राष्ट्रिय व्यापारका प्राध्यापक क्रिस्टोफर डेन्टका अनुसार युक्रेन पूर्ण कब्जा गर्ने रुसी राष्ट्रपतिको प्रयास असफल भइसकेको छ । यसले युद्ध सकिएपछि युक्रेन लगानीकर्ताको लागि राम्रो विकल्प बनेको डेन्टको ठम्याइ छ ।

युक्रेनी अर्थतन्त्रको सबलताको एक उदाहरण यसको विद्युत् बजारमा देख्न सकिन्छ । त्यहाँका पावर स्टेसन तथा ट्रान्समिसन केबल निरन्तर रुसी निसानामा पर्दै आएका छन् । तर पनि केही समयमै ती काम गर्ने अवस्थामा पुनर्निर्माण गरिन्छ । सन् २०२३ मा रुसीहरूले काखोभ्का जलविद्युत् स्टेसनमाथि आक्रमण गरे । आक्रमणले जलविद्युत् परियोजनाको बाँधमा पारेका भ्वाङबाट लाखौँ लिटर पानी बाहिरियो । तल्लो भेगका सहर र गाउँ डुबे भने वरपरको अर्थतन्त्रलाई कम्तीमा दुई अर्ब डलरको क्षति पुर्‍याएको थियो ।

त्यसयता विद्युत् क्षेत्रको सबलतामा युक्रेनले काम गर्न थाल्यो । जनवरी २०२४ देखि गत महिनासम्म बिजुलीको आयात १२३ गिगावाटबाट झन्डै आधाले बढेर १८३ गिगावाट पुगेको छ । तर, सोही अवधिमा विद्युत् निर्यात पाँच गिगावाटबाट ८५ गिगावाट पुगेको छ । ‘यसले युरोपेली सुपर ग्रिडमा युक्रेनको बढ्दो भूमिकालाई प्रतिबिम्बित गर्छ,’ डेन्ट भन्छन् । युक्रेनले अहिले मुख्यतया छिमेकी मोल्डोभा, हंगेरी र रोमानियामा विद्युत् पठाइरहेको छ ।

कृष्ण सागरमा अवस्थित युक्रेनका बन्दरगाह अझै पनि सञ्चालनमा छन् । डेन्युब नदीमार्फत उसका सामान पश्चिमतर्फ युरोप गइरहेको छ । केही परिमाणमा व्यापार रेलबाट पनि हुन्छ । यसबिच, कृषि क्षेत्रले ठुलो पुनरुत्थान हासिल गरिसकेको छ । भलै देश अहिले सन् २०२१ को स्थितिमा पुगिसकेको छैन, तर यसको अर्थतन्त्रले देखाएको लचिलोपन उल्लेखनीय रहेको डेन्ट मान्छन् । युद्धपछि युक्रेनले उसको विशाल धातुको भण्डारलाई उपभाग ल्याउन सक्छ । कैयौँ दुर्लभ खनिजसहित युक्रेनको खनिज भण्डारको मूल्य ११ ट्रिलियन (११० खर्ब) डलर रहेको अनुमान छ ।

युक्रेनको कर प्रणाली अझै मजबुत छ । गत डिसेम्बरको कर राजस्व संकलनमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५० प्रतिशत सुधार भएको छ । यसमा कर्पाेरेसनको कर भुक्तानीमा भएको वृद्धिको भूमिका रह्यो । देशको आयकर लगभग ६० प्रतिशतले असुल भएको छ । कर संकलन वृद्धिमा अन्तःशुल्कमा देखिएको १५० प्रतिशत वृद्धिको पनि योगदान छ । कर वृद्धिले सरकारको युद्ध स्रोत बढ्दा देशको प्रायः अधिकांश कल्याणकारी तथा सार्वजनिक सेवा खर्च भने अन्तर्राष्ट्रिय मुद्रा कोषबाट लिइएको ऋणलगायत विदेशी एजेन्सीको भुक्तानीले चलिरहेको छ ।

किभस्थित आर्थिक रणनीति केन्द्रका म्याक्सिम सामोइलियुकका अनुसार युक्रेनी श्रम बजार अहिले कम जीवन्त छ । ‘इन्फो सेपियन्स’ नामक अनुसन्धान एजेन्सीको तथ्यांकले जनवरीमा बेरोजगारी दर १६.८ प्रतिशत देखाएको छ । यसका बाबजुद ‘युक्रेनीहरूको विदेश पलायन र युद्ध धान्न सेनामा भर्तीको कारण’ उद्योगीहरूले श्रमिकको अभाव झेलिरहेको सामोइलियुक बताउँछन् । 

फलाम र स्पातको उत्पादन यसको युद्धपूर्वको स्तरको अंश मात्र छ । युद्धअघि, कारखानाहरूले प्रतिमहिना लगभग १५ लाख टन स्टिल उत्पादन गरिरहेको थियो । जबकि गत वर्ष यो औसत ६ लाख टन मात्र थियो । योसँगै युक्रेनको प्रमुख निर्यात खाद्यान्नमा आएको गिरावटले युक्रेनको वार्षिक राष्ट्रिय आय युद्धपूर्वको स्तरभन्दा लगभग २० प्रतिशत कम रहेको विज्ञहरू बताउँछन् । युद्धपछि युक्रेनको पुनर्निर्माणको विषयमा आगामी ग्रीष्ममा रोममा शिखर सम्मेलन हुँदै छ । त्यसमा युद्ध रोकिएपछि देशको पुनर्निर्माणमा कम्तीमा ५०० अर्ब डलर आवश्यक पर्ने अनुमान पेस गरिँदै छ ।

प्रतिबन्धलाई लिएर अनिश्चितता
‘क्यापिटल इकोनोमिक्स’ नामक कन्सल्टेन्सीका रुसीविज्ञ लियाम पिचका अनुसार छिटै हुने भनिएको ट्रम्प–पुटिन वार्ताले युक्रेनलाई पर्याप्त सुरक्षा ग्यारेन्टी दिनेमा आशंका सिर्जना गरेको छ । त्यस्तो अवस्थामा, भविष्यमा फेरि द्वन्द्व पुनः सुरु हुने सम्भावना कायम राख्नेछ । ‘यसले युक्रेनको पुनर्निर्माणमा लगानीकर्ताको प्रतिबद्धता खुम्च्याउन सक्छ,’ पिचले भने । रुसले उसमाथिका पश्चिमी प्रतिबन्ध हटाइए युरोपेली वित्तीय केन्द्रमा फ्रिज रहेका आफ्नो तीन अर्ब डलरको बचत त्याग्ने समाचार आइरहेका छन् । यसले अन्तर्राष्ट्रिय दाताहरूको अभावलाई पूर्ति गर्न सक्छ । तथापि, अहिलेको चरणबाट यो अझै असम्भव देखिन्छ । 

‘रुसका लागि कुनै पनि शान्ति सम्झौताको आर्थिक प्रभाव धेरै हदसम्म प्रतिबन्धमाथि कति राहत दिइनेछ भन्ने कुरामा निर्भर हुनेछ । यो साताको राजनीतिक विकासक्रम हेर्दा अमेरिकाले आफूले लगाएका प्रतिबन्ध हटाउने सम्भावना बढेको छ । यो रुसी अर्थतन्त्र र रुसी सम्पत्तिका लागि सकारात्मक हुनेछ,’ पिचले भने । युद्धविराम सम्झौता युक्रेनका लागि अनुकूल नभएमा युरोपले रुसमाथि प्रतिबन्ध हटाउने सम्भावना घट्नेछ । तथापि, युपोपका केही देशले (जस्तै भिक्टर ओर्बान नेतृत्वको हंगेरी) अमेरिकालाई अनुसरण गर्दै प्रतिबन्धहरू थप्ने प्रयासमाथि भिटो लगाउन सक्छन् । शान्ति सम्झौताको प्रकृतिले रुसी तेल र ग्यास प्रवाह कति छिटो पूर्व अवस्थामा फर्किन्छ भन्ने कुरालाई प्रभावित बनाउने पिचको ठम्याइ छ । 

‘रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्युट’का रुसविज्ञ रिचर्ड कोनोलीले मस्कोको युद्ध संयन्त्र र यसपछाडिको अर्थतन्त्र कमजोर भएकोमा विश्वास गर्दैनन् । उनका अनुसार रुसी बजार अहिले पनि सम्पूर्ण प्रणालीलाई अनुकूलन र गतिशीलता दिन पर्याप्त छ । र, राज्य आफ्नो सुरक्षा उद्देश्य हासिल गर्न आवश्यक स्रोत परिचालन गर्न सक्ने गरी बलियो छ । ‘जबसम्म यो सन्तुलन अक्षुण्ण रहन्छ, त्यति वेलासम्म रुसले पश्चिमसँग टकराव राख्दै युक्रेनमा युद्ध जारी राख्न सक्छ । उसँग पर्याप्त सैन्य शक्ति कायम राख्न आवश्यक आर्थिक स्रोतहरू उत्पन्न गर्न सक्षम हुनेछ । त्यसैले अर्थतन्त्र कमजोर भएर रुस वार्ताको टेबलमा आउनेछ भन्ने आशा साकार हुने सम्भावना छैन,’ उनी भन्छन् ।

सम्झौताका लागि ट्रम्पको जोड
पुटिनको मुख्य चिन्ता यसमा छ कि ट्रम्पको अन्तिम उद्देश्य युक्रेनलाई वासिंटनले दिँदै आएको सहायता घटाउनु मात्र नभएर अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य स्थायी रूपमा घटाउनु छ । क्रेमलिन आफ्नो सार्वजनिक सेवाहरूको भुक्तानीका लागि तेल र ग्यासको अस्थिर मूल्यमा अत्यधिक निर्भर छ । युरोपका सबैभन्दा ठुला तेल खरिदकर्ताले भोलिका दिनमा ट्रम्प–प्रेरित शान्ति सम्झौता स्वीकार गरे पनि बन्द रुसी ग्यास पाइपलाइन पुनः खोल्ने सम्भावना छैन । यसले क्रेमलिन तेल र ग्यास बिक्रीका लागि चीन र भारतजस्ता देशमा निर्भर रहनुपर्नेछ, जुन पर्याप्त हुनेछैन । पुटिनका राजनीतिक र आर्थिक उद्देश्य अमेरिकालाई युरोपबाट बाहिर निकालेर मात्र पूरा हुने भएकाले रुस कुनै प्रकारको सम्झौताले रोकिनेमा वारविक विश्वविद्यालयका प्राध्यपक मार्क ह्यरिसन शंका व्यक्त गर्छन् । के ट्रम्प त्यस्तो सम्झौतामा सन्तुष्ट हुन्छन् ? 

– द गार्जियनबाट

सुझावित समाचार