- बचतकर्ताको सवा नौ अर्ब जोखिममा पारेको ललितपुरको सुमेरु बचत तथा ऋण सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने–नगर्ने विषयको ‘बार्गेनिङ अडियो’ सार्वजनिक भएपछि तनावमा रहेका थापाले आत्महत्या गरेको आशंका, पोस्टमार्टम रिपोर्ट आउन बाँकी
- प्रहरीका अनुसार मृतक थापाको साथबाट ‘सुसाइड नोट’समेत फेला परेको छ । ‘सुसाइड नोट’मा थापाले सहकारीको विषयमा आफूलाई जोडिएको र त्यसले आफ्नो बेइज्जत भएको उल्लेख गरेका छन् ।
बागमतीका गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको शंकास्पद मृत्यु भएको छ । बचतकर्ताको सवा नौ अर्ब जोखिममा पारेको ललितपुरको सुमेरु बचत तथा ऋण सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने–नगर्ने विषयको ‘बार्गेनिङ अडियो’ सार्वजनिक भएपछि थापा तनावमा थिए ।
प्रहरीका अनुसार कलंकीस्थित डेरामा सोमबार अचेत अवस्थामा फेला परेका थापाको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा साँझ ६:३८ बजे मृत्यु भएको हो । प्रहरीले फागुनमा सार्वजनिक अडियोसँग घटना जोडिएको बताएको छ । थापाले ‘सुसाइट नोट’मा सहकारीको विषयमा जोडेर आफ्नो बदनाम गर्न खोजेको उल्लेख गरेका छन् । यद्यपि, ‘सुसाइट नोट’को आधिकारिकता पुष्टि हुन बाँकी छ ।
११ फागुनमा सार्वजनिक उनको अडियोमा १० लाख रुपैयाँ उपलब्ध गराए ललितपुरको पुलचोकस्थित संकटग्रस्त सुमेरु बचत तथा ऋण सहकारीलाई समस्याग्रस्त घोषणा गर्नबाट जोगाउन सकिने सुनिन्छ । उक्त अडियोमा उनले कर्मचारीमार्फत फाइल लुकाउन सकिने र उक्त विषय विभागीयमन्त्रीलाई थाहा नहुनेसमेत भनेका छन् । सुमेरु सहकारीलाई मन्त्रालयले गत २८ पुसमा समस्याग्रस्त घोषणा गरेको थियो ।
सुमेरुका तत्कालीन सचिव विनोद आचार्यलाई आश्वस्त पार्दै उनले अडियोमा भनेका छन्, ‘तपाईं खै कुरा बुझेको । यो विषयमा मदन (सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ) दाइलाई थाहै हुँदैन । कर्मचारीमार्फत गएर फाइल लुकाउने हो क्या । यसमा विधि प्रक्रिया पुगेको छैन, अब फलानो काम बाँकी छ । यसमा अनुसन्धान हुँदै छ भन्ने हो । सचिवमार्फत बोर्ड पुगेपछि काम हुने हो ।’
अडियो जनआस्थामा सार्वजनिक भएपछि उनी तनावमा थिए । उनी गत ९ फागुनमा मन्त्री श्रेष्ठसँगै काठमाडौं आएका थिए । काम विशेषले मन्त्री श्रेष्ठ १० फागुनमा रौतहट गएका थिए भने थापा काठमाडौंमै थिए । काम विशेषले आफू रौतहट जानुपर्ने भएपछि थापालाई काठमाडौंमै छोडेर गएको मन्त्री श्रेष्ठको भनाइ छ ।
थापा सोमबार धुनीबेँसी– ८ का काठमाडौं मनपा–१४ लिगमार्ग कलंकी बस्ने २१ वर्षीय शिव कुँवरको डेरामा अचेत अवस्थामा फेला परेका थिए । धादिङको धुनीबेँसी– ९ घर भएका ३६ वर्षीय थापाका दाइ सोमबार उक्त कोठामा पुगेका थिए ।
अचेत अवस्थामा भेटिएका उनलाई तत्काल उपचारका लागि कलंकीस्थित सहिद मेमोरियल अस्पताल पुर्याइएको थियो । प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार उपचारको क्रममा सोमबार साँझ ६ः३८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीले स्वकीय सचिव थापाले विषादी सेवन गरेको आशंका गरेको छ । थापा अचेत अवस्थामा फेला परेको नजिकै ‘सेल्फस’ नामको विषादीको बट्टा फेला परेकोले प्रारम्भिक रूपमा आत्महत्या हो कि भन्ने आशंका गरिएको र पोस्टमार्टमको रिपोर्ट आएपछि थप भन्न सकिने एसपी बोहराले बताए । ‘मृतक थापा बेहोस अवस्थामा फेला परेको स्थानमा सेल्फस नामक विषादीको बट्टा फेला परेको छ । त्यसैका आधारमा उनले विषादी सेवन गरेको आशंका गरिएको हो,’ एसपी बोहराले भने, ‘शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल राखिएको छ । रिपोर्ट आएपछि मात्रै मृत्युबारे स्पष्ट हुन र भन्न सकिन्छ ।’
अडियोमा सहकारीका सञ्चालकसहित थापा र धादिङका राजु गर्तौलाको आवाज रहेको मन्त्री श्रेष्ठले बताए । अडियो जोडिएका गर्तौलालाई सोधपुछका लागि नियन्त्रणमा लिएको र सामान्य सोधपुछपछि छाडिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए । अडियो क्लिप परीक्षणको क्रममा रहेको प्रहरीको भनाइ छ । मृतक थापाको नोटमा बदनाम गर्न अडियो सम्पादन गरी प्रयोग गरिएको उल्लेख रहेको मन्त्री श्रेष्ठले बताए ।
‘सुसाइड नोट’मा के छ ?
प्रहरीका अनुसार मृतक थापाको साथबाट ‘सुसाइड नोट’समेत फेला परेको छ । ‘सुसाइड नोट’मा थापाले सहकारीको विषयमा आफूलाई जोडिएको र त्यसले आफ्नो बेइज्जत भएको उल्लेख गरेका छन् । ‘मृतक थापासँग सुसाइड नोट पनि भेटिएको छ । सुसाइड नोटमा सहकारीको विषयमा जोडेर आफ्नो बदनाम गर्न खोजिएको उल्लेख छ । सुसाइट नोटको आधिकारिकताबारे पनि अनुसन्धान भइरहेको छ,’ एसपी बोहराले नयाँ पत्रिकासँग भने, ‘घटनास्थलमा फेला परेको ‘सुसाइट नोट’ थापाले नै लेखेको हो वा होइन भन्ने पुष्टि फरेसिन्क जाँचबाट मात्रै हुन्छ ।’
सहकारीको नौ अर्ब जोखिममा
४ साउन ०५६ मा ललितपुरको पुलचोकमा स्थापना गरिएको सुमेरु बचत तथा ऋण सहकारीको अहिले नौ अर्ब २० करोड ९५ लाख २५ हजार ८७९ रुपैयाँ जोखिममा छ । सहकारीका संस्थापक अध्यक्ष भरत महर्जन हुन् । उनी परिवारसहित अहिले बेलायतमा छन् । अकुत सम्पत्ति तह लगाउन उनले श्रीमतीसँग सम्बन्धविच्छेद गरेका थिए । तर, बेलायत जानुअघि उनैसँग पुनः विवाह गरेका थिए ।
सुमेरुले आठ अर्ब ९६ करोड सात लाख १४ हजार ७०० रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसमध्ये दुईतिहाइ कर्जा सुमेरु सिटी अस्पताल र सुमेरु कम्युनिटी अस्पतालमा असुरक्षित तवरले प्रवाह भएको छ । सांसद सूर्य थापा नेतृत्वको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनअनुसार सुमेरु सिटी अस्पतालमा मात्रै तीन अर्ब १२ करोड ३५ लाख १८ हजार ६० रुपैयाँ कर्जा प्रवाह भएको छ । यसैगरी, सुमेरु कम्युनिटी अस्पतालमा दुई अर्ब ८६ करोड ६४ लाख ८१ हजार ९४० रुपैयाँ कर्जा प्रवाह भएको छ । बाँकी तीन अर्ब ३८ करोड ८० लाख ४१ हजार सात रुपैयाँ भने अन्य कम्पनीमा प्रवाह भएको देखिन्छ ।
समस्या आउन थालेपछि उनले ०७६ मा सहकारीको नेतृत्व हेमराज दाहाललाई हस्तान्तरण गरेका थिए । मन्त्रीको श्रेष्ठका स्वकीय सचिव थापासँग रकम बार्गेनिङ गर्ने आचार्य त्यसवेला सहकारीको सचिव बनेका थिए ।
सहकारीकै रकम दुरुपयोग गरी उनले धापाखेलमा सुमेरु अस्पताल, पुल्चोकमा सुमेरी सिटी अस्पताल, सातदोबाटोमा एसियन कलेज, शंकरापुरमा एकेडेमी खोलेका थिए । त्यस्तै, उनले सुमेरु ग्रुपका नाममा हाउजिङ, मार्ट, मनी एक्सचेन्ज, टुर एन्ड ट्राभल्स, सुमेरु इन्भेस्टमेन्टलगायतका कम्पनी खोलेका थिए ।
मनग्य सम्पत्ति देखेपछि सहकारीको व्यवस्थापन लिने भन्दै देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईं र सोही संस्थाका सल्लाहकार कृष्ण कँडेल सुमेरु प्रवेश गरेका थिए । ६ महिना व्यवस्थापन सम्हालेपछि उनीहरू सुमेरुबाट बाहिरिए । त्यसपछि भने पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंहको समूह सुमेरुमा भित्रिएको थियो । समूहले सहकारीको अध्यक्षमा वीरेन्द्र महर्जनलाई चयन गरेको थियो ।
सुमेरुका तत्कालीन सचिव विनोद आचार्य र बागमतीका गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय रवि थापाबिचको अडियो संवाद
आचार्य : मैले शिवराज दाइलाई कुरा गरेको थिएँ क्या बाबु ।
थापा : शिवराज दाइले भन्दिने हो क्या । मैले त तपाईंलाई भनेको हो । दायाँबायाँ कुरा केही छैन ।
आचार्य : तर, टुंग्याउनुपर्छ बाबु । को–को कर्मचारी मिलाउनुपर्छ । तिमीलाई याद छ ?
थापा : त्यहाँ कर्मचारीको अभाव छ एउटा । पत्रिकामा सूचना निकाल्न पनि चार हजार रुपैयाँ चाहिन्छ ।
आचार्य : त्यही गाह्रो छ ।
थापा : कर्मचारीले आजै सबै स्टडी गर्न लागिरहेका छन् । मैले तपाईंलाई सिन्ड्रोम दिएको हो । तपाईं आफैँ विचार गर्नुहोस् न ।
आचार्य : सुन न भाइ । त्यो कर्मचारी भनेको त्यस्तै हो । तिमी–हामी भएपछि भइहाल्छ । तलबाट लिइहाल्छ । म त दाइसँग आशीर्वाद लिने हो । गर्ने त भाइले नै त हो नि ।
थापा : अँ
आचार्य : के गर्ने त ? अलिकति आइडिया देऊ न त ।
थापा : तपाईं हामीसँग जोडिनुभयो । होइन । कर्मचारी तपाईंले चिन्नुभएको छैन । मैले शिवराज दाइसँग कुरा गर्दा त्यो मान्छे लफडा छ । कुरा गरेर साध्य छैन भन्नुभएको थियो ।
आचार्य : कसलाई लफडा भनेको ?
थापा : हजुरलाई भनेको हो कि कसलाई भनेको थाहा भएन । त्यो लफडा छ । यसको हुँदा पनि हुँदैन । छाडिदेऊ भन्नुभएको थियो । खासगरी त्यो विदेशमा बस्छ नि त्यो अध्यक्ष ।
आचार्य : हो, हो, त्यो भागेर बेलायत बस्छ । त्यसलाई त हामीले चार अर्बको मुद्दा दायर गरेका छौँ अदालतमा । हामी त भाग्दैनौँ । कुनै हालतमा भाग्दैनौँ बाबु ।
थापा : अब तपाईंहरूले के गर्नुहुन्छ । कुरा त्यही हो दाइ होइन । मैले नजिकबाट थाहा पाएको भएर भनेको हुँ ।
आचार्य : मेरो भनाइचाहिँ कमसेकम मदु दाइले इन्द्रेको बाउ चन्द्रे आए पनि गर्दिनँ । आरजु भाउजूको नाम नलिए हुन्थ्यो भन्ने मेरो चाहना हो ।
थापा : उहाँ पनि आवेशमा आएर हो दाइ । कोही एमालेको सांसद, कोही कांग्रेसको सांसद । कोही के कोही के । त्यहाँ तपाईंको मात्रै केस होइन नि । हाम्रो तीन हजार सातवटा सहकारी छन् । त्यसमध्ये तीन सयवटा सहकारी समस्याग्रस्त छन् दाइ ।
आचार्य : मेरो कुरो के भने अखिरमा मदु दाइ पनि कांग्रेसको मान्छे हो नि । तर, उहाँले शेरबहादुरको पनि आदेश मान्दिनँ, आरजुको पनि आदेश मान्दिनँ कि भनेको भन्ने मेरो आपत्ति हो के भाइ ।
थापा : होइन यो छाडिदिनु दाइ । अब तपाईं आफू कसरी सहज हुने त्यो वातावरण बनाउनुहोस् ।
आचार्य : त्यही भएर र मैले भाइसँग कुरा गरेको बाबु ।
थापा : अब धेरै यो लम्बाइ–चौडाइको कुरा छाडिदिनुस् ।
आचार्य : अब कसरी जाने त भनौँ न त ।
थापा : अब कसरी जाने ? तपाईंले ल्याउने । हामीले मिलाउने हो नि । तपाईं ढुक्क भएर बस्नुहोस् । तपाईंको काम अघि बढ्छ ।
आचार्य : मदु दाइको सिग्नल त चाहिन्छ नि त बाबु ।
थापा : तपाईं ढुक्क भएर बस्नु न दाइ । मदु दाइको तपाईंले टेन्सन लिनैपर्दैैन के । तपाईं खातामा हादिदिनु ।
आचार्य : कति गरौँ त बाबु । हामी साथीभाइ सल्लाह गर्छौँ । कतिसम्म गरौँ ल भन त । धेरै त सकिँदैन । हामी गरिब छौँ । जनतालाई पैसा दिन सकेका छैनौँ । कति गरौँ ल भन त ।
थापा : कति भनौँ खै । अघि मैले भनिहालेँ दाइ । तपाईंको समस्या ठुलो छ । एक करोड दुई करोडले होलाजस्तो लाग्दैन । तिनीहरूको ऊ हेर्दा खेरि । उनीहरूले अर्बौँ हान्या छ । हामीले एक एक करोड खाँदा पनि केही फरक पर्दैन भनेर कुरा गरिरा’थ्यो । अहिले तत्कालका लागि चाहिँ १० जतिमा मान्छ कि भन्ने हाम्रो अनुमान हो ।
आचार्य : १० लाख ? फेरि मदु दाईले आपत्ति गर्नुहुन्छ कि?
थापा : त्यसमा केही आपत्ति मान्नुहुन्न । तपाईं ढुक्क हुनुस् न । त्यसको जिम्मेवारी मैले लिन्छु ।
आचार्य : म पार्टीको कार्यकर्ता भएको हिसाबले नाम त भन्न मिल्छ नि ?
थापा : तपाईं–हामी भेटेरै कुरा गरौँला ।
आचार्य : होइन नाम त भनिदेऊ न । केही फरक पर्दैन भाइ ।
थापा : नाम अहिले म भन्दिनँ । तपाईं आउनुस् । भेटेर कुरा गर्नुस् ।
आचार्य : कुरो मिलेन भने के हुन्छ बाबु ? हामीले १० दिन सकिएन भने के हुन्छ ?
थापा : अब सकेन भने सकेन दाइ । अब के भन्ने ।
आचार्य : कर्मचारीले के–के गर्न सक्छन् ?
थापा : उनीहरूले प्रक्रिया त अघि बढाइहाल्छन् नि दाइ ।
आचार्य : हामीले अरू कुरा मिलाएका छौँ । मदु दाइले थाहा पाए भने झन् डेन्जर होला कि?
थापा : हामी त्यत्तिकै मन्त्रीको नजिक भएका छौँ र ? जो पायो त्यही मन्त्रीको नजिक हुन्छ ? त्यहाँ पु¥याउन पनि हाम्रो योगदान छ नि त । होइन भन्नु न ।
आचार्य : हो हो ।
थापा : तपाईं ढुक्क हुनुस् क्या । तपाईंले त्यो गर्दिनुभयो भने मन्त्री भइन्जेल तपाईंको फाइल रोकिन्छ ।
आचार्य : अनि समस्याग्रस्तमा भाइले कसरी को–अर्डिनेसन गर्छौ त यार ।
थापा : ए दाइ त्यो तपाईंको समस्या होइन क्या । अघि त्यत्रो भनेको । बुझ्नुभएन ? मन्त्रीले निर्देशन गर्ने हो । विधि विधानअनुसार काम हुने हो क्या दाइ । तपाईंले खै कुरा बुझेको । यो विषयमा मदन दाइलाई थाहै हुँदैन । कर्मचारीमार्फत गएर फाइल लुकाउने हो क्या । विधि प्रक्रिया पुगेको छैन । अब फलानो काम गर्न बाँकी छ । यसमा अनुसन्धान हुँदै छ भन्ने हो । सचिवमार्फत बोर्ड पुगेपछि काम हुने हो ।