बिमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाले सम्हाले कार्यभार

परिवर्तनको महसुस हुने गरि काम गर्ने प्रतिबद्धता

मंगलबार, १३ फागुन, २०८१
डिजिटल संस्करण

नेपाल बिमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले बिमा क्षेत्रमा परिवर्तन आएको महसुस हुने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले मंगलबार कार्यभार सम्हाल्दै सरकारले विश्वास गरेर दिएको जिम्मेवारी पूरा गर्न सम्पूर्ण ध्यान केन्द्रित हुने बताएका हुन् । 

अध्यक्ष ओझाले बिमा क्षेत्रमा देखिने गरेर परिवर्तन आएको महसुस हुने गरी सबैको सहकार्यमा कार्यान्वयनयोग्य कार्ययोजना बनाएर काम गर्ने बताए । बिमा ऐन, नियम, निर्देशिका एवं मापदण्डबमोजिम अगाडि बढ्ने उल्लेख गरे । अध्यक्ष ओझाले बिमा क्षेत्रको नियमनकारी निकायका रूपमा प्राधिकरणले अवलम्बन गर्दै आएको असल अभ्यासलाई निरन्तरता दिने र आवश्यक अन्तर्राष्ट्रिय असल अभ्यासलाई कार्यान्वयन गर्दै जाने बताए । 

अध्यक्ष ओझाले बिमा क्षेत्रलाई नियमित, प्रतिस्पर्धी र पारदर्शी बनाउँदै बिमितको हित संरक्षण, प्राधिकरणका विचाराधीन मुद्दाहरूको शीघ्र फर्स्योट र बिमकको वित्तीय स्वास्थ्यलाई बलियो बनाउन प्राथमिकताका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

मंगलबार नै अर्थ मन्त्रालयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नवनियुक्त अध्यक्ष ओझालाई पद तथा गोपनीयताको शपथ गराएका थिए । 

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनलाई नेपाल बिमा प्राधिकरणको अध्यक्ष नियुक्त गरेको हो । 

त्यस अवसरमा नेपाल बिमा प्राधिकरणका निवर्तमान अध्यक्ष एवं प्राधिकरण सञ्चालक समितिका सदस्य मदन दहालको उपस्थित थियो ।

सुझावित समाचार