हिन्दुकुश क्षेत्रमा तीव्र गतिमा पग्लिँदै हिमनदी

मंगलबार, १३ फागुन, २०८१
डिजिटल संस्करण

शताब्दीको अन्त्यसम्म तापमान पूर्वऔद्योगिक स्तरभन्दा तीन डिग्री सेल्सियसले बढ्यो भने हिन्दुकुश क्षेत्रका करिब ७५ प्रतिशत हिमनदी पग्लनेछन्

संयुक्त राष्ट्र संघले सन् २०२५ लाई अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्ष घोषणा गरेको छ । यसले विश्वका हिमताल पग्लँदै गएको कटु यथार्थ सामना गर्न उपयुक्त अवसर प्रदान गरेको छ । जलवायु परिवर्तनले हिमताल पगाल्ने प्रक्रिया थप तीव्र बनाउँदै लगेको छ । विशेषतः आर्कटिक र अन्टार्कटिकाबाहेक सबैभन्दा ठुलो मात्रामा हिउँ सञ्चित रहेको पृथ्वीको तेस्रो ध्रुव भनेर चिनिने हिन्दुकुश हिमालय क्षेत्रमा यो प्रभाव देखिन्छ । यो हिमशृंखला अफगानिस्तानदेखि म्यान्मारसम्म आठ देशमा फैलिएको छ । यसले करिब तीन हजार पाँच सय किलोमिटर क्षेत्र ओगट्छ । यस क्षेत्रमा विश्वको औसतभन्दा करिब तीनगुणा छिटो तापक्रम वृद्धि भइरहेको छ । यो शताब्दीको अन्त्यसम्ममा तापमान पूर्वऔद्योगिक स्तरभन्दा तीन डिग्री सेल्सियसले बढ्यो भने यस क्षेत्रका करिब ७५ प्रतिशत हिमनदी पग्लनेछन् । जसले, पानीको उपलब्धता घटाउने, खाद्य एवं ऊर्जा सुरक्षामा आँच पुर्याउने र जैविक विविधताको क्षतिलाई थप तीव्र बनाउनेछ ।

यसरी हिमनदी पग्लिनुले हिन्दुकुश क्षेत्रका समुदाय र स्थानीय अर्थतन्त्रमा अपरिवर्तनीय क्षति पुर्याउने खतरा हुन्छ । यसबाहेक यसले विश्वभर अस्थिरता बढाउने सम्भावना पनि राख्छ, अर्थात् आप्रवासन वृद्धि, व्यापारमा अवरोध र खाद्यवस्तुको मूल्यवृद्धि हुने सम्भावना हुन्छ । नेपालको मेलम्ची नदीमा सन् २०२१ मा आएको बाढी विपत्तिले भविष्यमा आउन सक्ने संकटको झलक देखाएको छ । असाधारण रूपमा भारी वर्षा र अत्यधिक हिउँ पग्लिनुका कारण उत्पन्न गेगरान बहावले हजारौँ हेक्टर कृषिभूमि र महत्वपूर्ण भौतिक पूर्वाधार ध्वस्त पारेको थियो, जसका कारण लाखौँ मानिस पानीको पहुँचबाट वञ्चित भएका थिए ।

हिमनदी पग्लिँदै जाँदा पानीको अभाव हुनेछ । यो समस्या सन् २०५० सम्ममा हिन्दुकुश हिमालय क्षेत्रमा गम्भीर रूपमा देखा पर्ने अनुमान गरिएको छ । घट्दो नदी प्रवाहका कारण विश्वको लगभग एकतिहाइ चामल र एकचौथाइ गहुँ उत्पादन गर्ने यस क्षेत्रमा कृषिका लागि सिँचाइ गर्न कठिन हुनेछ । पानी आपूर्ति र सरसफाइ प्रणालीको व्यवस्थापन झनै कठिन बन्नेछ, जसले पहिल्यै आधारभूत सरसफाइ सुविधाबाट वञ्चित भएका यस क्षेत्रका एक अर्ब मानिसलाई थप असर गर्नेछ । खाद्य असुरक्षा सम्भवतः गम्भीर रूपले बढ्नेछ, जबकि समुदाय र केही उद्योगसमेत ताजा पानीको खोजीमा अन्यत्र सर्न बाध्य हुने सम्भावना छ । यसले एसियाका सबैभन्दा गरिब र कमजोर जनसंख्या समूहलाई सबैभन्दा बढी प्रभावित गर्नेछ ।

यस क्षेत्रमा तीव्र रूपमा भइरहेको हिमनदी पग्लिने प्रक्रियाका विनाशकारी प्रभाव रोक्न विश्वले तत्काल कदम चाल्न आवश्यक छ । यसको अर्थ बहुजोखिम मूल्यांकनमा लगानी गरेर हाम्रो ज्ञानलाई विस्तार गर्नु हो, किनभने क्षतिको स्तर मुख्य रूपमा विश्वव्यापी तापमान १.५, १.८, २ वा ३ सेल्सियसले वृद्धि हुनेमा निर्भर रहनेछ । यसबाहेक हामीले समन्वित नदी जलाशय व्यवस्थापनलाई सुदृढ पार्नुपर्छ । यसका लागि तथ्यांक संकलनमा सुधार गर्नु, ज्ञान आदान–प्रदानलाई प्रवद्र्धन गर्नु, पानी व्यवस्थापनलाई प्रभावकारी बनाउनु र माथिल्लो तथा तल्लो तटीय क्षेत्रमा बसोवास गर्ने मानिस र समुदायबिच समन्वय कायम गर्नु अत्यन्त आवश्यक छ । नयाँ र विद्यमान पूर्वाधार जलवायु प्रतिरोधी रहेको सुनिश्चित गर्नु अत्यावश्यक छ, जसले सुरक्षित खानेपानी र ऊर्जा सुरक्षाका साथै सरसफाइ, सिँचाइ र यातायात प्रणालीको स्थायित्व कायम राख्न मद्दत गर्छ । यसैगरी वृक्षरोपण, पुनः वृक्षरोपण, सीमसार संरक्षण र बाढी मैदान पुनस्र्थापना गरेर पारिस्थितिकी तन्त्रको संरक्षण र प्राकृतिक समाधान प्रवद्र्धन गर्नु पनि उत्तिकै आवश्यक छ ।

यस रणनीतिका हरेक पक्षका लागि थप वित्तीय स्रोत आवश्यक छ । विकास संस्थाले हिन्दुकुश हिमालय क्षेत्रमा लगानी विस्तार गर्न निरन्तरता दिनुपर्छ र यो हिमनदीयुक्त क्षेत्र तथा यसको नदी जलाशयलाई विश्वव्यापी सार्वजनिक सम्पत्तिका रूपमा पुनः परिभाषित गर्न आपसमा सहकार्य गर्नुपर्छ । यस सहकार्यमा विशेषतः कृषि र औद्योगिक गतिविधिका महत्वलाई ध्यानमा राख्नुपर्छ । अन्तर्राष्ट्रिय समुदायले सहयोग र कूटनीतिक माध्यमबाट साझा हिमनदी स्रोतको न्यायसंगत उपयोगलाई अघि बढाउनुपर्छ । यसले सम्भावित तनाव कम गर्न, दिगो विकासलाई प्रवद्र्धन गर्न र यस क्षेत्रका हिमनदीलाई द्वन्द्वको सट्टा शान्तिको कारकका रूपमा सुनिश्चित गर्न मद्दत गर्नेछ ।

एसियाली विकास बैंकले यी लक्ष्य हासिल गर्न केही महत्वपूर्ण कदम चालेको छ । ग्रिन क्लाइमेट फन्ड र विभिन्न देशीय साझेदारसँग मिलेर बैंकले हालै ग्लेसियर्स टु फाम्र्स कार्यक्रम सुरु गरेको छ, जसले मध्य र पश्चिम एसियामा कृषि क्षेत्रमा जलवायु सहनशीलता बलियो बनाउन तीन अर्ब ५० करोड डलर परिचालन गर्नेछ । त्यसैगरी हिन्दुकुश हिमालय–भुटान र नेपालमा अनुकूलन र सहनशीलता निर्माण पहलले जलवायु प्रतिरोधी पूर्वाधार र सेवा योजना तथा डिजाइनमा सहयोग पुर्याइरहेको छ । यसबाहेक बैंकले इको–क्षतिपूर्ति संयन्त्र, कार्बन बजार र पानी व्यापार तथा दिगोपन–सम्बन्धित ऋणपत्रजस्ता नयाँ वित्तीय साधनको परीक्षण पनि गरिरहेको छ ।

युनेस्को र विश्व मौसम संगठनले गत महिना अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्ष घोषणा गर्दा संगठनका महासचिव सेलेस्टे सौलोले हिमनदी संरक्षणलाई ‘विश्वका लागि एक चेतावनी’का रूपमा लिन आवश्यक भएको बताएका छन् । विश्व समुदायले जलवायु सहनशीलता निर्माणदेखि हरित रुपान्तरणलाई तीव्र बनाउने र क्षेत्रीय सहकार्य प्रवद्र्धन गर्नेजस्ता सबै उपाय अवलम्बन गर्नुपर्छ, ताकि हिमनदी र यीसँग सम्बन्धित पारिस्थितिकी तन्त्रमा निर्भर अर्बौं मानिसका लागि दिगो भविष्य सुनिश्चित गर्न सकियोस् । अहिले कदम नचाल्ने हो भने यसको परिणाम सबैका लागि विनाशकारी हुनेछ ।

(असाकावा एसियाली विकास बैंकका अध्यक्ष हुन्) 
प्रोजेक्ट सिन्डिकेटबाट 

सुझावित समाचार