हिउँचितुवाको उद्धार गरी प्राकृतिक वासस्थानमा छाडियो

मंगलबार, १३ फागुन, २०८१
डिजिटल संस्करण

पछिल्लाे समय आहाराको खोजीमा हिउँचितुवा मानवबस्तीमा पस्न थालेका छन्

हिउँचितुवा (प्यान्थेरौनिका)को उद्धार गरी प्राकृतिक वासस्थानमा छाडिएको छ । गत बिहीबार मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका– ३ समरका नवीनकुमार गुरुङको च्याङ्ग्राको खोरमा पसेकाे हिउँचितुवालाई नियन्त्रणमा लिएर प्राकृतिक वासस्थानमा छाडिएको हो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका प्रमुख उमेश पौडेलका अनुसार स्थानीयवासीले दिएकाे सूचनापछि खोरमा पसेको चितुवालाई इलाका प्रहरी कार्यालय छुसाङबाट खटिएको प्रहरी, नेपाली सेना, एक्यापका कर्मचारी र स्थानीयवासीको टोलीले नियन्त्रणमा लिएको थियो।

हिउँचितुवालाई फलामको खोरको पासोमा पारेर नियन्त्रणमा लिइएको र प्राकृतिक वास्थानमा लगेर छाडिएको पौडेलले नयाँ पत्रिकालाई जानकारी दिए । पछिल्लो समय मुस्ताङमा हिउँचितुवाले गाउँभित्र पसेर घोडा, खच्चड, भेडा, च्याङ्ग्रा र चौँरीको गोठमा क्षति पुर्याउन थालेको छ ।

पछिल्लाे समय आहाराको खोजीमा हिउँचितुवा मानवबस्ती र गोठमा पसेर क्षति पुर्याउने गरेकाे छ ।  पौडेलले नेपालको संरक्षण इतिहासमा हिउँचितुवाको उद्धार गरी प्राकृतिक वासस्थानमा छाडिएको पहिलो घटना भएको जानकारी दिए ।

सुझावित समाचार