राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक १५ फागुनमा बस्ने भएको छ । राखेपको बोर्ड बैठकको मुख्य एजेन्डा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा केन्द्रित रहेको छ । ‘बिहीबार बस्ने बैठकको मुख्य एजेन्डामा सुर्खेतमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिताबारे हो,’ राखेपको स्रोतले भने, ‘ चैतमा हुने भनिएको प्रतियोगिताको नयाँ मितिबारे निर्णय हुनेछ।’
राखेपले बैठकमा सहभागी हुने सदस्यलाई पत्राचार गरेको छ । यसअघि दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गत २–९ मंसिरसम्म हुने भनिएको थियो । तर, खेलकुदमन्त्री तेजुलाल चौधरी र राखेपका सदस्यसचिव टंकलाल घिसिङबिचको सम्बन्ध टकराव हुँदा प्रतियोगिता भएन । त्यसपछि गत २० मंसिरमा भएको बैठकले आउँदो २३ देखि ३० चैतसम्म प्रतियोगिता हुने निर्णय गर्यो ।
यद्यपि, मन्त्रालय र राखेपले प्रतियोगिताका लागि अहिलेसम्म खासै तयारी गरेका छैनन् । तोकिएको मितिमा प्रतियोगिता आयोजना गर्न नसक्ने भएपछि अब बस्ने बोर्ड बैठकमा मिति सार्ने नै पहिलो एजेन्डा भएको राखेप स्रोतले बताए ।