बागलुङको बडिगाडमा जिप दुर्घटना, दुईजनाको मृत्यु

सोमबार, १२ फागुन, २०८१
डिजिटल संस्करण

बागलुङको बडिगाडमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। बडिगाड गाउँपालिका–९, दर्लिङमा लु३च ५५६९ नम्बरको जिप दुर्घटना भएको हो।

सोही गाउँपालिकाको भीमगिठेदेखि खहरेतर्फ जाँदै गरेका जिप दुर्घटनामा परी घाइते भएका दुईजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिएका छन्। दुर्घटनामा सात यात्रु घाइते भएका छन्। 

मृत्यु हुनेहरूमा निसीखोला गाउँपालिका–७, चोलाङका ७५ वर्षीय खड्कबहादुर कुँवर र ढोरपाटन नगरपालिका–५, नाथुरेका ३५ वर्षीया जुना कँडेल रहेका छन्। उनीहरूलाई उपचारका लागि बुर्तिबाङ अस्पतालमा पुर्याइएको थियो। 

दुर्घटनामा घाइते हुनेमा बडिगाड गाउँपालिका–९ का ६३ वर्षीया तेजकुमारी बुढा, सोही स्थानका ५० वर्षीया निमसरा बुढा, ५२ वर्षीया यमकुमारी पौडेल, ३० वर्षीया सीता पौडेल, उनकी दुई छोरीहरू ६ वर्षीया पूर्णिमा र तीन वर्षीया अंशु पौडेल रहेका छन्।

घाइतेमध्ये तेजकुमारीलाई थप उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल रेफर गरिएको प्रहरी नायब उपरीक्षक यादवले जानकारी दिए। जिपका चालक २३ वर्षीय हिमाल घर्तीमगर पनि सामान्य घाइते रहेका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

जिप सडकदेखि करिब ६० मिटर तल खसेको प्रहरीको भनाइ छ। दुर्घटनामा परी घाइते भएकाहरूको उद्धारका लागि इलाका प्रहरी कार्यालय भीमगिठेका प्रहरी नायब निरीक्षक खगेश्वर अर्याल नेतृत्वको कमान्ड घटनास्थलमा पुगेको थियो। प्रहरीका अनुसार उकालो बाटोमा ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान छ। घाइते अन्यको बुर्तिबाङ अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ। 
 

सुझावित समाचार