प्रहरी निरीक्षक मृत्यु प्रकरण : आत्महत्या दुरुत्साहनमा अर्का प्रहरी निरीक्षकविरुद्ध पक्राउ पुर्जी जारी

सोमबार, १२ फागुन, २०८१
डिजिटल संस्करण

सशस्त्र प्रहरी बलकी प्रहरी निरीक्षक सन्तोषी महतको मृत्युपछि अर्का प्रहरी निरीक्षक विवेक जोशीका विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। सन्तोषीका परिवारले तनहुँमा कार्यरत सशस्त्रकै प्रहरी निरीक्षक जोशीविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी किटानी जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले प्रक्राउ पुर्जी जारी गरेको हो।

महतको शव पोखरा महानगरपालिका लामापाटनस्थित सशस्त्र प्रहरीको हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयअन्तर्गत तालिम केन्द्रको महिला शौचालयमा झुन्डिएको अवस्थामा फेला परेको थियो।

महतको मृत्युपछि उनका परिवारले जिल्ला प्रहरी कार्यालय कास्कीमा सशस्त्र प्रहरी बल २३ नम्बर मनकामना गण भानु तनहुँमा कार्यरत सुदूरपश्चिम घर भएका जोशीविरुद्ध आत्महत्या दुरुत्साहन गरेको भन्दै किटानी उजुरी दिएका थिए।

उजुरीपछि कास्की प्रहरीले अदालतबाट अनुमति लिएर जोशीका विरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए। जोशीलाई पक्राउ गर्न प्रहरी परिचालन गरिए पनि उनी फरार छन्।

सिन्धुपाल्चोक घर भएकी महत १७औँ ब्याच (०८१) की निरीक्षक हुन भने परिवारले उजुरी दिएका निरीक्षक जोशी भने एक ब्याच सिनियर अर्थात् १६औँ ब्याचका हुन्। स्रोतका अनुसार उनीहरू प्रेममा रहेका र सम्बन्धमा खटपट भएपछि महतले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुमान छ। ०७२ सालमा जवानमा भर्ना भएकी महतले ०७८ सालमा असइमा र ०८१ मा निरीक्षकमा नाम निकालेर तालिम लिँदै थिइन्।

उनलाई शनिबार बेलुका २१ः३० बजे तालिम केन्द्रको महिला शौचालयको बिममा झुन्डिएको अवस्थामा फेला पारेकी सशस्त्र प्रहरीका प्रवक्ता एवं सूचना अधिकारी डिआइजी कुमार न्यौपानेले जानकारी दिए। न्यौपानेका अनुसार महत सिंस १७ को आधारभूत तालिम लिँदै गरेकी थिइन्।

घटनाको आन्तरिक छानबिनका लागि समिति गठन

घटनापछि आन्तरिक छानबिन गर्न सशस्त्र प्रहरी बलले आइतबार समिति गठन गरेको छ। बलका प्रवक्ता एवं सूचना अधिकारी न्यौपानेका अनुसार सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत डिआइजी लक्ष्मण सिंहको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन गरिएको हो।

न्यौपानेका अनुसार घटनालगत्तै नेपाल प्रहरीको टोलीले आवश्यक अनुसन्धान सुरु गरेको छ। आवश्यक कारबाही प्रक्रिया नेपाल प्रहरीले गर्ने भए पनि सशस्त्रले पनि आन्तरिक छानबिनका लागि समिति बनाएको हो।

महतको शव पोखरामा पोस्टमार्टम गरेर परिवारले बुझेका छन्। उनका बुबाआमा अस्ट्रेलियामा रहेकाले उनीहरू आएपछि मात्र दाहसंस्कार गरिने जनाइएको छ।

सुझावित समाचार