ताप्लेजुङको मेवा खोलामा निर्माणाधीन युनाइटेड मेवा खोला हाइड्रोपावरले आगामी चैतदेखि बिजुली उत्पादन गर्ने भएको छ।
मेरिङदेन गाउँपालिकामा निर्माण भइरहेको ५० मेगावाट क्षमताको आयोजना निर्माणको अन्तिम चरणमा छ। मेरिङदेन गाउँपालिका वडा नम्बर ३, ४ र ५ मा रहेको यो आयोजना समग्रमा ९९ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ।
पावर हाउस निर्माण भइसकेको आयोजनाका मेनेजर ओमप्रकाश चौधरीले बताए। चाैधरीले सिभिलका कामहरू पनि सकिएको जानकारी दिए। उता, पानी प्रवाह गर्ने सुरुङमार्ग पनि बनिसकेको छ। मेरिङ्देन गाउँपालिका–५ को थुकीमा पुछारबाट सुरु भएको सुरुङर्ग चार हजार आठ सय मिटरको छ।
आयोजनाको लागत नौ अर्ब रुपैयाँ रहेको चौधरीले बताए। भदौ ०७८ मा निर्माण सुरु भएको आयोजना असोज ०८१ भित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि केही ढिला भएको छ। आगामी १५ चैतसम्ममा राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य रहेको चौधरीको भनाइ छ। आयोजनामा करिब चार सयजनाले काम गरिरहेका छन्।
आयोजनाबाट हिउँदमा ९७.४२४ मेगावाट घन्टा र बर्खामा २०५.५८७ गिगावाट गरी वार्षिक ३०३.०११ मेगावाट विद्युत् उत्पादन हुनेछ।