इयूका उच्च कूटनीतिज्ञ युक्रेनबारे वार्ताका लागि अमेरिका जाँदै

सोमबार, १२ फागुन, २०८१
डिजिटल संस्करण

युरोपेली संघ (इयू)का विदेश नीति प्रमुख काजा कल्लासले आफ्ना समकक्षी मार्को रुबियोसँग वार्ताका लागि मंगलबार अमेरिका जाने बताएकी छिन्। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कोसँग तीन वर्षदेखि जारी युद्ध अन्त्यका लागि वार्ता सुरु गरेर किएभ र यसका समर्थकहरूलाई किनारा लगाएपछि युरोप अमेरिकालाई आफ्नो आवाज सुनाउन आतुर छ।

‘तपाईं (रुसी राष्ट्रपति भ्लादिमिर) पुटिनसँग जे चाहनुहुन्छ त्यही छलफल गर्न सक्नुहुन्छ। तर, यदि यो युरोप वा युक्रेनको कुरा आउँछ भने युक्रेन र युरोपले पनि यो सम्झौतामा सहमति जनाउनुपर्छ,’ सोमबार इयूका विदेशमन्त्रीहरूको बैठकमा पत्रकारहरूसँग अमेरिकी राष्ट्रपतिलाई संकेत गर्दै कल्लासले भनिन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनलाई कमजोर बनाउन चाहेको आशंकालाई बढावा दिएका छन्। उनले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीविरुद्ध व्यापक दबाब सिर्जना गरेका छन्। यसले रुसी बयानबाजीलाई प्रतिबिम्बित गर्दछ, जसमा जेलेन्स्कीलाई ‘तानाशाह’ पनि भनिएको छ।

‘संयुक्त राज्य अमेरिकाबाट आएका सन्देशहरू हेर्ने हो भने, यो स्पष्ट छ कि त्यहाँ रुसी आवाजलाई धेरै बलियो रूपमा प्रतिनिधित्व गरिएको छ,’ कल्लासले भनिन्।

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले सोमबार ह्वाइट हाउसमा अमेरिकी नेतालाई भेट्ने कार्यक्रम तय भएपछि ट्रम्प प्रशासनमा युरोपेली समुदायको बढ्दो पहुँचबिच कल्लासको वासिङ्टन भ्रमण हुन लागेको हो।

इयूका शीर्ष कूटनीतिज्ञले ब्रसेल्सका विदेशमन्त्रीहरूले किएभलाई प्रमुख हतियारको आपूर्ति बढाउने प्रस्तावमा छलफल गर्ने, तर आपूर्तिका लागि समग्र यूरो मूल्यमा सम्झौता हुने सम्भावना नरहेको बताएका छन्।

समूहले मस्कोमाथि औपचारिक रूपमा १६औँ चरणको प्रतिबन्ध लगाउनेछ, जसमा रुसबाट आल्मुनियम आयातमा प्रतिबन्ध पनि समावेश छ।

सुझावित समाचार