नेपाल उद्योग तथा व्यवसायी महासंघले औद्योगिक प्रदर्शनी गर्ने भएको छ । महासंघले आफ्नो वार्षिकोत्सवको अवसर पारेर उक्त प्रदर्शनी गर्न लागेको हो । देशभित्र रहेका लघु तथा घरेलु, साना–मझौलादेखि ठुला उद्योगबाट उत्पादित वस्तुहरूको बजारीकरण गर्न औद्योगिक प्रदर्शनी गर्न लागिएको महासंघका संयोजक भागीरथ सापकोटाले जानकारी दिए ।
‘लामो समयको आर्थिक मन्दीका कारण अहिले उद्योगी–व्यवसायीको मनोबल खस्किँदो अवस्थामा छ,’ उनले भने, ‘औद्योगिक वातावरण निर्माण गर्दै देशभित्र आर्थिक गतिविधि चलायमान बनाउन औद्योगिक प्रदर्शनी गर्न लागिएको हो । ‘चैत ८ र ९ गते बबरमहलमा महासंघको वार्षिक साधारणसभा गर्दै छौँ,’ उनले भने, ‘सोही अवसरमा देशभरका उद्योगी–व्यवसायीलाई उपस्थित गराई उहाँहरूले उत्पादन गरेका वस्तुलाई प्रदर्शनीमा राख्नेछौँ ।’ साथै, उक्त स्थललाई वस्तु उत्पादक र खरिदकर्ताको जमघटस्थल बनाइने सापकोटाको भनाइ छ ।
प्रदर्शनीमा पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका साना–मझौला किसानदेखि ठुला उद्योगी–व्यवसायीले उत्पादन गरेका वस्तु रहने मेला उपसमितिका संयोजक गोपाल खनालले जानकारी दिए । ‘मेलामा साना, लघु तथा घरेलुदेखि मझौला र ठुला गरी सयभन्दा बढी स्टलहरू राख्दै छौँ,’ उनले भने, ‘कर्णालीमा पाइने जिम्बु, यार्चा, शिलाजितदेखि पूर्वको छुर्पी, अलैँचीदेखि चिया–कफीसम्मका स्टल रहनेछन् ।’ साथै, उक्त मेलामा हरेक क्षेत्रका ठुला उद्योगहरूको उत्पादनसमेत बिक्री तथा प्रदर्शनीमा राखिने उनले जानकारी दिए ।