क्रिस्चियन धर्मगुरु पोप फ्रान्सिसको अवस्था गम्भीर रहेको छ । भ्याटिकनस्थित उनको कार्यालयले आइतबार बिहान अस्पतालबाटै जारी गरेको एक विज्ञप्तिमा उक्त जानकारी दिएको हो । गत फेब्रुअरी १४ देखि अस्पताल भर्ना भएका पोपलाई लामो समयसम्म श्वासप्रश्वासमा समस्या भएको र रगत चढाउनुपर्ने अवस्था आएको द होली सीले जनाएको छ ।
‘शनिबार राति पोपले शान्तिपूर्वक आराम गरेका छन्,’ होली सीले आइतबार बिहान दिएको संक्षिप्त अपडेटमा उल्लेख छ । सन् २०१३ देखि क्याथोलिक चर्चका प्रमुख रहेका अर्जेन्टिनी धर्मगुरुलाई सुरुमा ब्रोन्काइटिसका कारण रोमको जेमेली अस्पतालमा भर्ना गरिएको थियो । भ्याटिकनले शनिबार साँझ नियमित मेडिकल बुलेटिन जारी गर्दै भनेको छ, ‘होली फादरको अवस्था गम्भीर रहेको छ, त्यसैले उनी अझै ‘खतरामुक्त’ छैनन् ।’