तेस्रो जिल्लास्तरीय आर्चरीको उपाधि ज्यवस्यारी ङाप्ताकलाई

आइतबार, ११ फागुन, २०८१
डिजिटल संस्करण

संखुवासभामा जारी तेस्रो जिल्लास्तरीय आर्चरी प्रतियोगिताको उपाधि ज्यवस्यारी ङाप्ताक छिघुलुङले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा ज्यवस्यारी ङाप्ताक छिघुलुङले ४९५० अंकसहित उपाधि जितेको हो।

प्रतियोगितामा किमाथांका समाजले ४६९० अंक मात्रै प्राप्त गरी दोस्रो स्थानमा चित्त बझाएको छ । त्यसैगरी, पिबु समूहले ४५६० अंक ल्याउँदै तेस्रो स्थान हासिल गरे भने भोटखोला आर्चरी संघले २४२० अंक ल्याउँदै सान्त्वना स्थान प्राप्त गर्यो। 

व्यक्तिगत विधातर्फ पिबुका विकास भोटे म्यान अफ द म्याच घोषित भए । उनले १४७० अंक प्राप्त गरेका थिए । यसैगरी, उत्कृष्ट खेलाडीको रूपमा ज्यवस्यारी ङाप्ताक छिघुलुङ छिरिङ भोटे (११३० अंक), तेम्बा भोटे (१०६० अंक), सोना तेन्जिङ भोटे (१०३० अंक) र पेमा नावा भोटे (१०१० अंक) ले नाम लेखाएका छन्। 

प्रतियोगितामा नौ टिमले सहभागिता जनाएका थिए। प्रत्येक टिमका ६/६ जना खेलाडी हुने गर्छन्। ३२ मिटरको दूरीमा धुनषबाणले तीर लगाएअनुसार, १००, ५०, २० र १० अंक प्राप्त हुने आर्चरी संघ संखुवासभाका सचिव मिक्मातेम्बा लामाले बताए।

आइतबार फाइनल खेल समापनपछि एक कार्यक्रमबिच प्रतियोतिाका विजेतालाई नगद एक लाख पाँच हजार नौ सय ९९ रुपैयाँ, मेडल, प्रमाणपत्र र ट्रफी संखुवासभा आर्चरी संघका अध्यक्ष पासाङ भोटेले वितरण गरेका थिए। 

यसैगरी, उपविजेतालाई जिल्ला खेलकुद विकास समितिका कार्यबाहक अध्यक्ष कल्पना मगरले नगद ५५ हजार ९९९ रुपैयाँ, मेडल, प्रमाणपत्र र ट्रर्फी वितरण गरेकी थिइन्।
तेस्रोलाई नगद ३५ हजार ९९९ रुपैयाँ, मेडल, प्रमाणपत्र र ट्रफी वितरण गरियो भने सान्त्वनालाई नगद २० हजार ९९९ रुपैयाँ, मेडल, प्रमाणपत्र र ट्रफी वितरण गरिएको थियो। व्यक्तिगत उत्कृष्ट, बढी अंक ल्याउने खेलाडीहरूलाई नगद पाँच हजार एक सय, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। 

‘खेलकुदको विकास सँगसँगै संस्कृतिको संरक्षण’ भन्ने नारासहित भोटेहरूको महान पर्व २१५२औँ ग्याल्पो ल्होसारको पावन अवसरमा संखुवासभा जिल्ला आर्चरी संघले जिल्लास्तरीय प्रतियोगिताको आयोजना गरेको हो। खाँदबारी–७ स्थित खाँदबारी रंगशालामा शुक्रबारदेखि सुरु भएको प्रतियोगिता आइतबार समापन भएको हो। 
 

सुझावित समाचार