राजनीतिक प्रशिक्षणमा रास्वपा

आइतबार, ११ फागुन, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक प्रशिक्षण थालेको छ । केन्द्रीय प्रशिक्षण विभागले केन्द्रीय समितिका सदस्यलाई राजनीतिक प्रशिक्षण सञ्चालन गरेको हो । कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार शुक्रबारबाट सञ्चालन भएको प्रशिक्षणको पाठ्यक्रम केन्द्रीय समितिबाट स्वीकृत गरिएको थियो ।

नयाँ बन्दै गरेको संगठनलाई प्रशिक्षण गर्दै जाने योजनास्वरूप रास्वपाले केन्द्रदेखि प्रशिक्षण आरम्भ गरेको छ । यसअघि उपलब्ध विज्ञको आधारमा रास्वपाले प्रशिक्षण गर्दै आएको थियो । 

रास्वपाको स्वीकृत पाठ्यक्रमको पहिलो प्रशिक्षण केन्द्रीय कार्यालय वनस्थली काठमाडौंमा आयोजना भएको हो । पार्टी कार्यवाहक सभापति डोलप्रसाद अर्यालले प्रशिक्षणको औचित्य र महत्वबारे प्रकाश पारे । प्रशिक्षणमा कार्यवाहक सभापति, उपसभापति, कार्यवाहक महामन्त्री, सहमहामन्त्रीहरू, कोषाध्यक्ष, सहकोषाध्यक्ष, केन्द्रीय सदस्यहरू, सांसदहरूको उपस्थिति थियो । प्रशिक्षणमा मूल ६ वटा मुख्य विषय समेटिएको छ ।

जसअन्तर्गत राजनीतिक प्रशिक्षण, शासन प्रणाली, समाज, सामाजिक न्याय र कानुन, अर्थराजनीति र भूराजनीति सांगठनिक, जिम्मेवारी र लक्ष्य र प्रशासनिक व्यवस्था रहेका छन् । प्रशिक्षणका ६ मुख्य शीर्षकलाई १५ भागमा विभाजन गरी ५६ वटा विषयमा प्रशिक्षण दिइएको हो ।

प्रशिक्षणमा कक्षागत प्रशिक्षण, व्यावहारिक अभ्यास र दस्तावेज अध्ययनलाई विधिको रूपमा लिइएको छ । जसमा व्याख्यान, प्रस्तुति र समूह छलफल, घटना अध्ययन, भूमिका नाटक र सामूहिक कक्ष, सम्बन्धित पुस्तक, संविधान र पार्टी दस्तावेज अध्ययनजस्ता विधि समावेश गरिएको छ । रास्वपाले केन्द्रीय प्रशिक्षणमा प्रयोग गरेको सामग्रीका आधारमा प्रदेश, जिल्ला र स्थानीय पालिका संगठनलाई समेत प्रशिक्षण दिने तयारी गरेको छ । 

See More On

सुझावित समाचार