हजार युवाका लागि सीपमूलक तालिम सुरु

धनगढी उपमहानगरपालिकाको अगुवाइमा अटोमोबाइल, इलेक्ट्रोनिक, मोबाइल मर्मत, पेन्टिङ, मेकानिकल, आतिथ्य सत्कार, सौन्दर्य, लेखा व्यवस्थापन, सूचना प्रविधि, आर्ट एन्ड क्राफ्ट डिजाइनिङलगायतका विधामा निःशुल्क तालिम

शनिबार, १० फागुन, २०८१
डिजिटल संस्करण

कैलालीको धनगढीमा सीप तथा रोजगार मेला सुरु भएको छ । धनगढी उपमहानगरपालिकाको आयोजनामा सुरु भएको मेलामा सुदूरपश्चिम प्रदेशभरिका एक हजार ४० युवालाई विभिन्न विधाका सीपमूलक तालिम दिइने उपमहानगरले जनाएको छ ।मेलामा युवाहरूलाई ४० दिनसम्म सीपमूलक तालिम दिइनुका साथै तालिमपछि रोजगारीको सुनिश्चितताका लागि रोजगार प्रदायकसँग छलफलसमेत गरिने उपमहानगरले जनाएको छ । दक्ष जनशक्ति तयार गर्ने गरी सीपमूलक तालिमको आयोजना गरिएको नगर प्रमुख गोपाल हमालले बताए । रोजगारदाताले माग गरेको जनशक्ति तयार गर्ने गरी तालिम दिन लागिएको उनले बताए ।

 उपमहानगरका अनुसार ४० दिनसम्म सञ्चालन हुने तालिममा सहभागिताका लागि प्रदेशभरिबाट चार हजार आठ सय ३० ले आवेदन दिएका थिए । त्यसमध्ये अन्तर्वार्ताबाट एक हजार ४० जनालाई छनोट गरिएको हो । अटोमोबाइल, इलेक्ट्रोनिक, मोबाइल मर्मत, पेन्टिङ, मेकानिकल, निर्माण, आतिथ्य सत्कार, सौन्दर्य, लेखा व्यवस्थापन, सूचना प्रविधि, आर्ट एन्ड क्राफ्ट डिजाइनिङलगायतका विधामा निःशुल्क तालिम दिन लागिएको छ ।मेलाको संयोजकसमेत रहेका तालिम तथा रोजगार व्यवसायी महासंघ, सुदूरपश्चिम प्रदेशका अध्यक्ष प्रमोद पाठकले तालिमले बजारमा आवश्यक दक्ष जनशक्ति आपूर्तिमा सहयोग पुग्ने बताए । 

गोपाल हमाल, प्रमुख, धनगढी उपमहानगरपालिका
मेलामा युवाहरूलाई ४० दिनसम्म सीपमूलक तालिम दिइनुका साथै तालिमपछि रोजगारीको सुनिश्चितताका लागि रोजगार प्रदायकसँग छलफलसमेत गरिनेछ । दक्ष जनशक्ति तयार गर्ने गरी सीपमूलक तालिमको आयोजना गरिएको हो । 
 

सुझावित समाचार