१२औँ संस्करणको ‘नेपाल लिटरेचर फेस्टिभल’ १५ फागुनदेखि

शुक्रबार, ९ फागुन, २०८१
डिजिटल संस्करण

नेपाली कला, साहित्य र संस्कृतिलाई जगेर्ना एवं प्रवर्द्धन गर्ने उद्देश्यसहित पर्यटकीय नगरी पोखरामा १२औँ संस्करणको नेपाल लिटरेचर फेस्टिभल हुने भएको छ। एनसेल फाउन्डेसन प्रमुख प्रस्तुतकर्ता रहेको फेस्टिभल १५ देखि १८ फागुनसम्म पोखराको लेकसाइडस्थित फेवातालकिनारको बाराहीघाटमा हुने आयोजक बुकवर्म फाउन्डेसन नेपालले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको प्रांगणबाट सुरु भएको फेस्टिभल सन् २०१६ देखि पोखरामा आयोजना हुँदै आएको छ। बुद्ध एयरले संवर्द्धन गर्ने फेस्टिभलमा पोखरा महानगरपालिका प्रवर्द्धक, गण्डकी प्रदेश सरकार सहप्रवर्द्धक रहेको छ। उपप्रवर्द्धकका रूपमा नेपाल पर्यटन बोर्ड, कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंक रहेका छन्। चारदिने फेस्टिभलको उद्घाटन नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नेछन्।

चारदिने फेस्टिभलमा ५० भन्दा बढी सेसन हुने  
फेस्टिभलमा देश–विदेशका साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, पत्रकार, सम्पादक एवं विशिष्ट व्यक्तित्वहरू गरी दुई सयभन्दा बढी व्यक्तित्व उपस्थित हुने फेस्टिभल आयोजक सदस्य केशवशरण लामिछानेले जानकारी दिए। फेस्टिभलमा साहित्यसँग जोडिएका सामाजिक, राजनीतिक, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि गम्भीर मन्थन, अन्तर्क्रिया, सांगीतिक प्रस्तुति एवं अन्य रचनात्मक कार्यक्रमहरू गरी ५० भन्दा बढी सेसन रहनेछन्।

लामिछानेका अनुसार प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी. लामाको विद्वत् प्रवचनसँगै फेस्टिभल सुरु हुनेछ। लामा इन्दिरा गान्धी ओपेन युनिभर्सिटीका उपकुलपति र भारतको सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपतिसमेत हुन्। उनी भारतको राष्ट्रिय केन्द्रीय विश्वविद्यालयको सबैभन्दा कान्छा उपकुलपतिसमेत बनेका थिए।

विद्वत् प्रवचनपछि अध्यात्म र संघर्षमाथि मनीषा कोइराला र विजय कुमारको विशेष संवाद, महानायक राजेश हमालको प्रकाशोन्मुख पुस्तक ‘युगदेखि युगसम्म’को आवरण तथा पुस्ताकांश लोकार्पण, उद्यमी एवं लेखक जीवा लामिछानेको पुस्तक ‘अक्षत अन्टार्कटिका’को लोकार्पण, नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्का, चिकित्सक डा. भगवान कोइराला, म्यागी डोएन, नेपाली–अमेरिकी लेखक रञ्जन अडिगाको ‘लिच एन्ड अदर स्टोरिज’ परम्परागत पौभा चित्रका विश्व प्रसिद्ध कलाकार लोक चित्रकारका चित्र प्रदर्शनीलगायतका विषयहरू विशेष आकषर्णका रूपमा रहने फेस्टिभल आयोजक सदस्य भरत कोइरालाले जानकारी दिए। 

फेस्टिभलमा किरण नेपालीको नेतृत्वमा सामूहिक प्रस्तुति, ओमविक्रम विष्टको सांगीतिक समूह ‘सोनागी ब्लुज’, वरिष्ठ वामपन्थी नेता मोहनविक्रम सिंहद्वारा लिखित उपन्यास ‘कामरेड जलजला’माथि विमर्श, ६ वर्षीया लेखक भूमिलक्ष्मी पराजुलीको चित्रकथा पुस्तक ‘मरमेड, ह्वेल एन्ड प्रिन्सेस’ सार्वजनिक, विश्वप्रसिद्ध भारतीय लेखक शशि थरुरको पुस्तक ‘ह्वाई आई एम अ हिन्दू’को नेपाली संस्करण लोकार्पणसमेत विशेष आकर्षणका रूपमा रहने कोइरालाले बताए।

विद्यालय तहबाटै साहित्यलाई पाठ्यक्रमको अंश बनाउनेदेखि नयाँ पठन–संस्कृति विकासमा शिक्षक, अभिभावक तथा अन्य निकायहरूको भूमिकाबारे झकझकाउने प्रयासको निरन्तरता फेस्टिभलले दिने कार्यकारी निर्देशक नीरज भारीले बताए। 

फेस्टिभलका निर्देशक अजित बरालले यस्ता महोत्सवले हाल व्यापकता पाएको भन्दै स्कुलदेखि कलेज र वडादेखि गाउँपालिकामा समेत यस्ता साहित्यिक महोत्सव हुन थालेका बताए। फागुनमा मात्र सुर्खेत, काठमाडौं, पोखरा, धादिङ, काँकडभिट्टा, विराटनगर र टीकापुरमा गरी सात स्थानमा साहित्य र विचारका महोत्सव हुने जानकारी दिँदै उनले यसको श्रेय नेपाल लिटरेचर फेस्टिभललाई जाने बताए।

सुझावित समाचार